सूर्यदर्शन सहकारी ठगी प्रकरण : भोलि आदेश आउने सम्भावना, रोकिएन रास्वपा समर्थकको नाराबाजी

सूर्यदर्शन सहकारी ठगी प्रकरण : भोलि आदेश आउने सम्भावना, रोकिएन रास्वपा समर्थकको नाराबाजी

काठमाडौं : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुमाथिको बहस अन्तिम चरणमा पुगेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान सकिएको हो।

आज आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे। जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टेले पनि बहस गरेका थिए।

यसअघि रास्वपा सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए।

अब भोलि सरकारी वकिलले जवाफी बहस गरेपछि आदेश आउने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

‘सरकारी वकिलको जवाफी बहस सकिएपछि सम्भवतः भोलि नै आदेश आउन सक्छ। तर बहस कति लामो समय जान्छ यसै भन्न सकिएन,’ उनले भने, ‘बहसमा भर पर्ने कुरा भयो।’ 

अदालत अगाडि रास्वपा नेता तथा कार्यकर्ताको नाराबाजी कायमै 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आज पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहीद चोकस्थित शहीद पार्कभित्रबाट नाराबाजी गरे। 

पार्टी सभापति रविलाई जिल्ला अदालतबाट प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहीद पार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले सरकारविरूद्ध नाराबाजी गरेका हुन्।  

उनीहरूले रविलाई मंगलबार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरूद्ध चर्को नाराबाजी गरेका थिए। त्यसैलाई ध्यानमा राखेर प्रहरीले आज निषेधित क्षेत्र प्रवेशमा कडाइ गरेको थियो।  

निषेधित क्षेत्र प्रवेश गर्न चाहने पत्रकार, सञ्चारकर्मी, कानून ब्यबसायी र कर्मचारीलाई परिचय पत्र देखाउन अनिवार्य गरिएको थियो। तर, त्यही क्षेत्रभित्र पर्ने सहिद पार्कमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले रविलाई प्रहरी हिरासतमा फर्काउँदै गर्दा नाराबाजी गरे। 

त्यसअघि प्रहरीले पार्कभित्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई त्यहाँबाट हटाउने प्रयास गरेको थियो तर उनीहरुले विरोध गरिरहे।  

पुष २४, २०८१ बुधबार २०:२५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।