एफ्वानसफ्टको खाताबाट पैसा चोरीको आरोपमा समातिएका ९ जना धरौटीमा छुटे
काठमाडौँ : एफवानसफ्टको खाताबाट ३ करोड ३९ लाख रुपैयाँ चोरी भएको घटनामा पक्राउ परेका ९ जनालाई धरौटीमा छोड्न अदालतबाट आदेश आएको छ।
बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले ९ जना प्रतिवादीलाई छोड्न आदेश दिएको हो।
अदालतले राहुल ठाकुर र पुरुषोत्तम शाहसँग ५ लाख, कमल थापा मगरसँग २ लाख, कृष्णा रमन राउत, त्रिगुणरत्न बज्राचार्य, सञ्जीवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग १ लाख, दीपक थापामगरसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको हो।
उनीहरूले प्रयोग गरेको बैँक खाता मार्फत मुख्य योजनाकारले नेपालबाट बाहिर पैसा लगेका थिए। जसमा ९ जनाको खाता नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्दा खाता मार्फत रकमान्तर भएको देखिएकोले पक्राउ गरेको थियो।
साइबर ब्युरोले यस घटनामा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालय काठमाडौँमा प्रस्तावित राय र सुझाव पेस गरेको थियो। त्यही आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
प्रहरीले यस घटनामा अझै पनि अनुसन्धान गरिरहेको छ भने, चोरी भएको पैसा अझै फिर्ता आएको छैन। कहिले चोरिएको हो भन्ने जानकारी न त साइबर ब्युरोले दिएको छ, न त एफवानसफ्टले नै।
यस घटनाको मुख्य योजनाकारसम्म प्रहरी पुग्न सकेको छैन। आफ्नो खाता मुख्य योजनाकारलाई दिएको आधारमा प्रहरीको साइबर ब्युरोले २४ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो। यो घटनामा संलग्न १५ जना आरोपीहरू अझै फरार छन्।
सम्बन्धित समाचार
पुष २४, २०८१ बुधबार १९:०५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।