तिब्बतममा भूकम्पपछि ६४६ पराकम्पन, १२६ जनाको मृत्यु
एजेन्सी : दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको दिंग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ।
क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो। यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो।
भूकम्पमा १२६ जनाको मृत्यु भएको छ भने अन्य १८८ जना घाइते भएका छन्। भूकम्पप्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनरर्स्थापना गरिएको छ।
चाइनिज रेड क्रस सोसाइटी (आरसीएससी)ले मंगलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ। यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेडलगायत चार हजार तीन सय वस्तु समावेश छन्।
आरसीएससीद्वारा आपतकालीन सरसफाइ शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपतकालीन प्रतिक्रिया सामग्रीसहित ५० भन्दा बढी उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा पठाइएका छन्।
पुष २४, २०८१ बुधबार १८:२९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।