सहकारी ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेशकी श्रीमती अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

सहकारी ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेशकी श्रीमती अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : मोरङको धनपालथान-४ स्थित उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। 

जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन्। त्यसपछि बुधबार जिल्ला अदालत मोरङमा हाजिर भएकी कोइरालाको आजै बयानपछि थुनछेक बहस भएको थियो।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली-२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। 

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन्। 

सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जलासहित सञ्चालक कालोसूचीमा परेका छन्। 

सहकारी सञ्चालकहरूका अनुसार एमाले नेतासमेत रहेका पोखरेलले पत्नी अन्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए। 

कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए। तर, सहकारी संकटमा परेपछि अन्जलाले २०७८ को माघ ५ देखि सहकारीबाट राजीनामा दिएकी थिइन्। 

करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ।   

पुष २४, २०८१ बुधबार १७:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।