अमेरिकामा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा फ्याक्ट चेकिङ प्रोग्राम बन्द

अमेरिकामा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा फ्याक्ट चेकिङ प्रोग्राम बन्द

एजेन्सी : इन्टरनेट कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा अमेरिकामा तथ्य जाँच (फ्याक्ट चेकिङ) प्रोग्राम बन्द गर्ने निर्णय गरेको छ। यसको ठाउँमा कम्युनिटी नोट भन्ने अप्सन रहने मेटाले जनाएको छ।

फेसबुकमा निष्पक्ष तेस्रो पक्षका संस्थाहरूले विभिन्न टीकाटिप्पणीमाथि तथ्य जाँच गर्दै आएका छन्। विभिन्न देश र क्षेत्रका लागि भ्रामक सूचना जाँच्न मेटाले निष्पक्ष अन्तर्राष्ट्रिय तथ्य जाँच नेटवर्क (आईएफसीएन)सँग मेटाको सम्झौता छ।

कम्पनीले युरोपेली तथ्य जाँच मानक नेटवर्क (ईएफसीएसएन)सँग पनि काम गर्ने गरेको बताएको छ। अब अमेरिकामा भने यी तेस्रो पक्षका संस्थाहरूलाई तथ्य जाँचबाट हटाउने मेटाले बताएको हो। 

सामाजिक सञ्जाल एक्समा जस्तै कम्युनिटी नोटमार्फत भ्रामक सूचनामा अन्य प्रयोगकर्ताले वास्तविकता के हो भनेर लेख्न सक्छन्।

मेटाले तथ्यजाँचकर्तालाई हटाउने नीति ल्याएसँगै यसका सामाजिक सञ्जालमा अब भ्रामक सूचना र सामाजिक द्वेष फैलाउने टीकाटिप्प्णी बढ्ने चिन्ता गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम वार्यडले अब फेसबुकमा तेस्रो लिंगीलाई मानसिक 'रोगी' लेख्न मिल्ने बताएको छ। सीएनएनले अब महिलाहरूलाई 'घरेलु वस्तु' भनेर लेख्न मिल्ने दाबी गरेको छ।

फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले एएफपीलाई दिएको अन्तर्वार्तामा अत्यन्त खतरनाक समयको सुरूवात भएको बताएका छन्। 

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको राप्लर न्यूज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन्।

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताए। 

'मार्क जुकरबर्गले यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो भन्नुभएको छ। यो सरासर गलत हो, रेसाले भने। 

यता, मेटाका सीईओ जुकरबर्गले कम्पनीको मध्यस्थता नीति र प्रक्रियाहरूमा प्रमुख परिवर्तनको घोषणा गरेको भनेका छन्। बदलिँदो राजनीतिक र सामाजिक परिवेशलाई ध्यानमा राखेर अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कदम चालिएको उनको दाबी छ। 

जुकरबर्गले फेसबुक भिडियोमार्फत यस बदलावको पक्षमा बोल्दै 'थर्ड पार्टी फ्याक्ट-चेकर्स'ले राजनीतिक पक्षपात पैदा गरेको जसले गर्दा जनताको भरोसा तोडिएको बताएका छन्। 

'हामी एउटा विन्दुमा पुगेका छौं, जहाँ धेरै परिवर्तन र सेन्सरसिप छन्। हामीलाई पहिले जस्तै स्वतन्त्र अभिव्यक्तितर्फ ध्यान दिनुपर्ने आवश्यकता छ। फ्याक्ट चेकरहरूले जति भरोसा दिलाए, त्यति धेरै क्षति पुर्याएका छन्, उनले भनेका छन्। 

पुष २४, २०८१ बुधबार १६:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।