मुगुमा एकैवर्ष मह उत्पादनबाट एक करोडको कारोबार
मुगु : पछिल्ला वर्षहरूमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ। मौरी पालनको लागि उपयुक्त हावापानी भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोबार भएको छ।
महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउकालगायतका २ दर्जन बढी कृषकहरूले परम्परागत मुडे घारमा मौरी व्यवसाय गर्दै आएका छन्।
मह कृषक रुप बहादुर सेजुवालले पुर्खादेखि यही मौरी खेती गर्दै आएको बताए। उनले बर्षमा १ लाखदेखि २ लाखसम्म मह बिक्री गर्दाको आम्दानीले घर खर्च चलाउनमा सहयोग पुगेको बताए।
जिल्लामा प्रति माना १ हजारदेखि १५ सयसम्म दर रेट भए पनि घरमा आउने ग्राहकलाई १ हजार रुपैयाँ मानो मह बिक्री गर्ने गरेको उनले बताए।
उनले भने, ‘बर्षमा २ पटक मह निकाल्ने गरेको छु। जिल्लामा मौरी सम्बन्धी तालिम, गोष्ठी, अनुदानका कार्यक्रम सन्चालन भए पनि अहिलेसम्म मैले कुनै सेवा पाएको छैन।’
आर्थिक स्रोत र अनुदान नपाउँदा वर्षेनी मौरी भालु र मलछ्याडाले खाने गरेर घाटा हुने गरेको कृषकहरूको गुनासो रहेको छ। मुगु जिल्ला कृषि बिकास कार्यालयको आव २०८०।०८१ को तथ्यांक अनुसार जिल्ला भरी ५ हजार ५ सय मौरी घार रहेका छन्। जिल्लामा १ करोड भन्दा बढी रकम भित्रिएको तथ्यांकमा देखिन्छ।
पुष २४, २०८१ बुधबार १५:२८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।