आफ्नै अभिनय रहेको हरर फिल्म हेरेर तर्सिने हैन, हाँस्छिन् अभिनेत्री प्रियंका

आफ्नै अभिनय रहेको हरर फिल्म हेरेर तर्सिने हैन, हाँस्छिन् अभिनेत्री प्रियंका

काठमाडौँ :  अभिनेत्री प्रियंका कार्कीले हरर जनराको ‘माला’ र ‘ची मुसी ची’सँगै सर्ट फिल्म ‘किचकन्नी’ मा अभिनय गरिन्। भूतको कथा भए पनि दर्शक तर्सिएनन्। फिल्म हेरेर हाँसे।

योबारे प्रियंका जानकार नभएको पनि हैन, जानकार छिन्। प्रियङ्काले फिल्मको स्क्रिप्ट पढ्दा र सुन्दा जति उत्साहित भइन्छ हेर्दा त्यो नपाएको र सुटिङ सेटमा पुग्दा कथा परिवर्तन हुने गरेको स्विकारिन्। उनले आफूले खेलेको हरर फिल्मले दर्शकलाई तर्साउनुको साटो हँसाएको पनि स्विकारिन्।

हरर फिल्म ‘ममी’बारे जानकारी दिन आयोजित कार्यक्रममा उनले भनिन,‘मैले धेरै हरर फिल्ममा अभिनय गरिसकेको छु। अप्रोच गर्दाखेरि यसरी गर्छौँ, नयाँ शैलीमा गर्छौँ भन्नुहुन्छ। तर, आफैँले गरेको हरर फिल्म हलमा हेर्दा आफैँलाई डर लाग्दैन। मेरो प्रतिष्ठा नै खराब हुन लागिसक्यो। त्यसैले पनि एउटा तर्सिने फिल्म चाहिँ गर्नुपर्छ भन्ने भइरहेको थियो।’

हरर फिल्मको स्क्रिप्ट जति पढ्दा र सुन्दा उत्साहित भइन्छ, फिल्म हेर्दा तर्साउन सक्ने क्षमताको बन्ने नगरेको उनले बताइन्। हरर फिल्मका लागि साउन्ड, छायाङ्कन र भिएफएक्स महत्त्वपूर्ण हुने र भिएफएक्स धेरै खर्चिलो हुने भएकाले सोचेअनुरूप नबन्ने गरेको उनको तर्क थियो।

‘हरर फिल्ममा साउन्ड जुन किसिमको चाहिन्छ, त्यो एकदमै फिक्का भइरहेको हुन्छ’ उनले भनिन्।

हुन त प्रियङ्काको फिल्म ‘ची मुसी ची’ र ‘माला’ले मात्र होइन ऋचा शर्माको ‘सुनकेसरी’, उषा रजक अभिनीत ‘कठपुतली’ले पनि दर्शकलाई तर्साउन सकेनन्। बरु लगानी नउठेर अर्को फिल्म निर्माण गर्न निर्माता आफैँ तर्सिए। 

पुष २४, २०८१ बुधबार १५:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।