शान्ति प्रक्रियाका बाँकी काम टुंगिन लागेका बेला एमालेले रोक्ने गरेको प्रचण्डको आरोप

शान्ति प्रक्रियाका बाँकी काम टुंगिन लागेका बेला एमालेले रोक्ने गरेको प्रचण्डको आरोप

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाइएको बताएका छन्। 

बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए। 

उनले भने, ‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो। त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन। एउटा प्रवृत्ति नहोस् भन्ने नै छ। अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन्।’

त्यस्तै, पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्ष सम्म शान्ति प्रक्रिया टुङ्गो नलाग्ने उनको भनाई छ। 

उनले भने, ‘यसको समाधान पीडितहरूले बेलाबेलामा यो कुरा उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु हो। यो विषय कानुनी भन्दा पनि बढि राजनीतिक नै छ। पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन।’

पुष २४, २०८१ बुधबार १५:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।