एनपिएलमा जुवा खेलेका भारतीयको कारोबार २५ करोड, चितवन-काठमाडौं-जनकपुर-सुदूरपश्चिम र पोखरामा बोली

एनपिएलमा जुवा खेलेका भारतीयको कारोबार २५ करोड, चितवन-काठमाडौं-जनकपुर-सुदूरपश्चिम र पोखरामा बोली

काठमाडौं : टीयू क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्स र काठमाडौं गुर्खाजबीचको खेल चलिरहेको थियो। मैदानमा खेल हेर्न पुगेका थिए भारतीय नागरिक रोहित शर्मा।

उनी भारतदेखि एनपिएलकै लागि नेपाल आएका थिए। उनको उद्देश्य खेल हेर्नु थिएन, जुवा खेलाउनु पनि थियो। खेल सुरू भएसँगै उनले मैदानमै बसेर जुवा सुरू गरे।

उनले पहिलो दाउ खेले ‘कर्णाली याक्सले काठमाडौं गूर्खाजविरुद्ध खेल जित्नेछ। त्यसका लागि उनले बाजी राखे एक लाख १४ हजार भारु अर्थात एक लाख ८४ हजार नेपाली रुपैयाँ।

काठमाडौं गुर्खाजका माइकल लेभिटले कर्णाली याक्सविरुद्ध २० वा त्यो भन्दा बढी रन बनाउँछन्, पूरा ओभरभित्र काठमाडौं गुर्खाजले ६ वा त्यो भन्दा बढी विकेट लिन्छ, शिखर धवनले ५० वा त्यो भन्दा बढी रन बनाउँछन्। उनले सो खेलमा यस्ता १२ वटा अनुमानहरूमा जुवामा पैसा राख्दै गए। उनको धेरै अनुमानहरू मिल्यो।

चितवन राइनोज् र पोखरा एभेन्जर्सबीचको खेलमा पनि उनले अनलाइन जुवा खेल्ने क्रम जारी राखे। पोखराविरुद्ध चितवन राइनोजले खेल जित्छ सहित उनले ११ वटा अनुमानमा पैसा लगाए। चितवनले जित्छ भनेर उनले एक लाख ३८ हजार भारु बाजी लगाए। यो मिल्यो। यसमा पनि उनको अधिकांश अनुमान मिल्यो। उनी फाइदामै रहे।

एनपिएलको मैदानमा वुल्फत्रिपल सेभेन नामक अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट वुल्भत्रिपलसेभेनन्युजको भव्य विज्ञापन राखिएको थियो। उनले प्रोबो नामक एप प्रयोग गरेर क्रिकेट मैदानको प्याराफिटमा बसेर अनुमानमा आधारित जुवा खेलिरहेका थिए। जुवा खेल्नु अनि जुवाको प्रचार गर्नु दुवै काम नेपालको कानुन अनुसार गैर कानुनी थियो।

खेल सकिएर जब उनी मैदान बाहिर निस्किए प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टिमले उनलाई नियन्त्रणमा लियो। प्रहरीले मैदानमा बसेर अनलाइन जुवा खेलिरहेको सूचनाको आधारमा उनलाई पहिल्यै निगरानीमा राखेको खुल्यो।

प्रहरीले उनी मात्र हैन एनपिएलका खेलमा आधारित भएर अनलाइन जुवा खेलेको आरोपमा अर्का दुई भारतीय नागरिक सन्दीपकुमार सिंह र प्रियांशुकुमार सिंहलाई समेत पक्राउ गरेको थियो।

अनुसन्धानमा अन्य दुवैले पनि मैदानमा बसेर एनपिएलमा भइरहेको खेलमा आधारित अनलाइन जुवा खेलिरहेको प्रमाण प्रहरीले फेला पार्यो।

सन्दीपले त्यही दिनको दुई खेलमा सय वटा अनुमान राखेर करिब आठ लाख नेपाली रुपैयाँ बराबरको जुवा खेलेको खुल्यो। उनले त्यसबापत करिब ७० हजार कमाएका थिए।

अनुसन्धानमा यी तीनै जना मंसिर १८ र १९ गते टीयू क्रिकेट मैदानमै गएर अनलाइन जुवा खेलेको खुल्यो। दुवैको मोबाइल जाँच गर्दा दुवैले एक करोड २० लाख भारु ( करिब एक करोड ९२ लाख रुपैयाँ) बराबरको जुवा खेलिसकेको खुल्यो।

एनपिएलका खेलमा आधारित अनलाइन जुवामा गरिएको लगानी।सन्दीप कुमार सिंहले एनपिएल अन्तर्गतको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स र कर्णाली याक्स अनि काठमाडौं गुर्खाज र चितवन राइनोजका खेलहरूमा समेत जुवा खेलेका थिए।

अनुसन्धानमा उनीहरू एनपिएलमा आधारित अनलाइन जुवा खेल्ने उद्देश्यले मंसिर १४ मा भारतबाट नेपाल आएर ठमेलको होटेलमा बसेको खुल्यो। उनले यसबीचमा एक करोड ९० लाख रुपैयाँ बराबरको जुवा खेलेर १३ लाख रुपैयाँ बराबर कमाइसकेको ब्यूरोको अनुसन्धानमा खुलेको थियो।

अर्का रोहित शर्माले त १५ करोड ७० लाख बराबरको अनलाइन जुवा खेलेको खुल्यो। त्यसबाट उनले  ६५ लाख कमाएको देखियो। उनले दुई दिनमा एनपिएलका खेलहरूमा सात लाखको जुवा खेलेर ७६ हजार कमाएको खुल्यो।

तीनै जनाको जोडेर प्रहरीले १५ लाखको बिगो कायम गर्यो। त्यही अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो।

०००

भारत हरियाणाका ३२ वर्षीय प्रदीप खर्ब पनि एनपिएलको खेलमा आधारित भएर अनलाइन जुवा खेलेको आरोपमा पक्राउ परेका थिए। उनको मोबाइल हेर्ला उनले पनि प्रोबो नामक एपबाट सात करोड ८७ लाख बराबरको अनलाइन जुवा खेलेर ८९ लाख रुपैयाँ कमाएको खुल्यो।

एनपिएलका खेलहरूमा उनले दुई दिनमा डेढ लाखको जुवा खेलेकोमा २५ हजार रुपैयाँ हारेको देखियो। पक्राउ पर्नु अगाडिसम्म उनले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेलमा मैदानमा बसेर जुवा खेलेका थिए।

०००

नेपालको जुवा ऐन र मुलुकी अपराध संहिताले जुवा खेल्न, खेलाउन अनि प्रचार गर्न प्रतिबन्ध लगाएको छ। यसमा सट्टा समेत जोडिएको छ। खेलमा आधारित सट्टामा भारतीय नागरिक मात्रै हैन नेपाली नागरिकहरू समेत संलग्न रहेको आरोपमा पक्राउ पर्ने गरेका छन्।

वानएक्सबेट, वुल्फत्रिपलसेभेन,डाफाबेट लगायतका अनुमान गराएर जुवा र सट्टा खेल्ने गरेको अभियोगमा पटक-पटक नेपालीहरू पक्राउ पर्ने गरेका छन्।

नेपालमा अनलाइन जुवाको लत फैलाउन खेलमा आधारित अनलाइन जुवा र सट्टा गराउन यस्ता कम्पनीहरूले युवाहरूबिच लोकप्रिय क्रिकेट अनि फुटबलका प्रतियोगिताहरूमा सरोगेट ब्रान्डमार्फत प्रचार गर्ने गरेका छन्। सीमित आर्थिक स्रोतको लोभमा आयोजकहरू कानुन मिचेर प्रचारका मतियार बनिरहेका छन्।

एनपिएलमा पनि क्यानले वुल्फत्रिपलसेभेनको सरोगेट वुल्फत्रिपलसेभेनन्युजलाई लिग पाट्नर बनाएर मैदानबाट यसको प्रचार गराएको थियो। नेपालको कानुनले जुवाको प्रचारलाई प्रतिबन्ध लगाए पनि एनपिएल अवधिभर सो विज्ञापन हटेन।

प्रहरी हुँदै गृहमन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र विज्ञापन बोर्डले एनपिएलको आयोजक क्यानलाई त्यसबारे पत्र पठाएको थियो। तर पत्रको टुङ्गो लागेको छैन।

उकेरासँगको विशेष कुराकानीमा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसबारे अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही गर्ने दाबी गरेका थिए।

नेपालमा कुन कुन एपको प्रभाव छ ?

विभिन्न देशहरूमा खेलमा हारजित हुने लगायतका अनुमान गरेर खेलिने जुवा वैध भए पनि नेपालमा कानुनी रुपमै यो प्रतिबन्धित छ। नेपालमा प्रतिबन्धित भए पनि जुवा पुरै नियन्त्रित भने छैन। प्रहरीले बेलाबखत यसरी जुवा खेलाउने र खेल्नेहरुलाई पक्राउ गरिरहेको भने हुन्छ।

नेपालमा जुवाका अम्मलीहरुको संख्या हेरेर वैध रुपमा आउन नसके पनि यस्ता खेलमा आधारित जुवा खेलाउने कम्पनीहरु सरोगेट ब्राण्डमार्फत प्रभाव फैलाउन आइरहन्छन्।

एनपिएलमा भएका खेलमा भएको जुवा।नेपालमा आयोजना हुने क्रिकेट अनि फुटबलका लिगहरुमा यस्ता कम्पनीहरु समाचारको आवरणमा प्रवेश गर्ने गरेका छन्। पहिला वानएक्सबेटले आफ्नो सरोगेट ब्राण्ड वानएक्सब्याट, वानएक्सन्युज, वानएक्सस्पोर्टिङको नाममा जुवाको प्रचार गर्दै आएको थियो।

प्रहरी अप्रेशनमा सबैभन्दा धेरै जुवा खेलेको र खेलाएको अभियोगमा पक्राउ पर्नेहरू यही वानएक्सबेटसँग जोडिएकाहरुसँग थिए। त्यसपछि खेल आयोजकहरू हच्किए। उनीहरू वानएक्सबेट छाडेर डाफाबेटतिर लागे। डाफाबेटले डाफान्युजको नाममा आफ्नो प्रचार गर्थ्यो।

डाफा पनि जुवा प्रवर्धन गर्ने कम्पनी हो भन्ने खुलेपछि नेपाल प्रिमियर लिगमार्फत वुल्फत्रिपलसेभेन समाचारको आवारणमा वुल्फत्रिपलसेभेन न्युजको आवरणमा प्रचारमा भित्रियो।

पुष २४, २०८१ बुधबार १३:३९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।