पुलिसविरुद्ध मधेशले बनायो एक सय २९ रन, मयनले अर्धशतक बनाउौा गुल्सनले लिए पाँच विकेट

पुलिसविरुद्ध मधेशले बनायो एक सय २९ रन, मयनले अर्धशतक बनाउौा गुल्सनले लिए पाँच विकेट

काठमाडौं : जय ट्रफी इलाइट कप दुई दिवसीय क्रिकेट अन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको पहिलो इनिङ्समा मधेश प्रदेश एक सय २९ रनमा समेटिएको छ।

पर्साको नारायणी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको मधेश प्रदेशले एक सय २९ रन बनाउँदा सबै विकेट गुमायो।

मधेश प्रदेशका लागि पहिलो विकेट सुरुमै गुमाए पनि त्यसपछि भने मयन यादव र निरज यादवले सम्हालिएको पारी खेलेका थिए। उनीहरूले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

तर दोस्रो विकेटको रुपमा निरजलाई कुशल भुर्तेलले आउट गरे। उनी व्यक्तिगत २९ रनमा आउट भए। त्यसपछि विशाल पटेल क्रिजमा आए पनि धेरैबेर टिक्न सकेनन्। उनलाई गुल्सन झाले शंकर रानाको हातबाट क्याचआउट गराए।

त्यसपछि ब्याटिङमा आएका साहित पटेल, राहुल मण्डल र हिमांशु दत्ता पनि क्रमशः ०, १ र २ रन बनाएर आउट भए। पटेल र मण्डलको विकेट गुल्सनले लिँदा दत्तालाई राजवंशीले पेभेलियनको बाटो देखाए।

एक इनिङबाट विकेट खसेको देखिरहेका मयन यादवले आफूलाई सम्हालिरहे पनि ३६औं ओभरको चौथो बलमा ५९ रन बनाएका उनलाई गुल्सन झाले आउट गरे। त्यसपछि रुपेश सिंह, रञ्जित कुमार र अफ्रुदिन रैनले खासै रन बनाउँदा अभिषेक तिवारीले १७ रनको पारी खेले।

पुलिसका लागि गुल्सन झाले पाँच विकेट लिँदा कुशल भुर्तेलले दुई तथा ललित राजवंशी र श्रवन यादवले समान एक–एक विकेट लिए।

केहीबेरमा पुलिसले आफ्नो पहिलो इनिङ्स ब्याटिङ गर्दैछ।

पुष २४, २०८१ बुधबार १३:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।