महोत्तरीका पाँच पालिकाका विद्यालय बन्द
जलेश्वर : तीन दिनदेखि एक्कासी जाडो बढेपछि महोत्तरीका पाँच वटा पालिकाले विद्यालय बन्द गरेका छन्।
सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन्।
जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले आजदेखि लागू हुनेगरी पुस २९ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन् भने एकडारा गाउँपालिकाले आगामी माघ १ गतेसम्मका लागि विद्यालय बन्द गरेको विज्ञप्तिमार्फत जनाएका छन्।
साना बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेपछि १० नगरपालिका र पाँच गाउँपालिका रहेका महोत्तरीका पाँच वटा पालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द भएको जनाएका छन्।
तराई मधेसमा विगत दुई-तीन दिनदेखि एक्कासि शीतलहर र चिसो हावा चल्न थालेपछि कठ्याङ्ग्रिदो र असहनीय जाडो भएर जनजीवन प्रभावित बनेको छ। असहनीय जाडोका कारण स-साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पुष २४, २०८१ बुधबार १३:०२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।