सुरक्षा खतरा बढेपछि सलमान खानको घर बुलेट प्रुफ बनाइयो
एजेन्सी : अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ।
गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाएपछि सलमानको घरमा सुरक्षा बढाइएको थियो। अहिले घरको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएको हो।
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि पुनर्निर्माणको काम चलिरहेको थियो। अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ गिलास देखिएका छन्।
एनडीटीभीले स्रोतलाई उद्धृत गर्दै सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको बताएको छ। घर वरिपरि ‘हाइ रिजोल्युसन’का सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ।
सलमान खान ग्यालेक्सी अपार्टमेन्टको भुइँतलामा बस्दा आमाबुवा पहिलो तल्लामा बस्छन्।
आठ महिनाअघि गत अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा चार राउण्ड फायर भएको थियो। गोली चलाउनेहरू घरबाहिर राखिएको सिसिटिभी क्यामेरामा कैद भएका छन्।
गोलीबारी त्यही पर्खालमा भएको थियो, जहाँबाट उनी आफ्ना फ्यानहरूलाई अभिवादन गर्न आउने गरेका थिए।
घटनापछि फरेन्सिक विज्ञहरूले घटनास्थलबाट एउटा लाइभ बुलेट फेला पारेका थिए। लरेन्स समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो।
पुष २४, २०८१ बुधबार ०९:३९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।