गम्भीर वित्तीय अपराधमा व्यक्तिगत बैंक खाता भाडामा, प्रहरी निरीह, नियामक लापर्बाह
पछिल्लो समय नेपालमा व्यक्तिगत बैंक खाताहरू भाडामा लगाएर हुने वित्तीय अपराधको संख्या बढ्दो छ।
अपराधको शैली :
-सामाजिक सञ्जालमार्फत सजिलै पैसा कमाउन सकिने भन्दै युवाहरूलाई लोभ्याउने
-फेसबुक, ह्वाट्सएप र टेलिग्राम जस्ता प्लेटफर्म प्रयोग गरी सम्पर्क गर्ने
-खाता प्रयोग गरेबापत कमिसनको प्रलोभन दिने
-धेरैजसो खातावालाहरू आफू अपराधमा संलग्न भएको थाहै नपाई फस्ने
प्रमुख घटनाहरू:
-एफवानसफ्टको सिटिजन बैंक खाताबाट ३ करोड ३९ लाख रुपैयाँको अनधिकृत कारोबार
-अनलाइन जुवाको रकम कारोबारका लागि बैंक खाता भाडामा लिने क्रम बढेको
-वुल्फत्रिपलसेभेन जुवा प्रकरणमा २४ करोड रुपैयाँको कारोबार
विस्तृत रिपोर्ट :
OOO
काठमाडौँ : त्रिगुणरत्न बज्राचार्यले फेसबुकमा'घरै बसी पैसा कमाउनुहोस्' भनेर लेखेको विज्ञापन देखे। उनले जब विज्ञापनमा क्लिक गरे लिङ्क सिधै टेलिग्रामको अकाउन्टमा रिडाइरेक्ट भयो।
टेलिग्राम अकाउन्ट अनौठो नामको व्यक्तिको थियो, योलो (@Yolo168861)। उनले कुराकानी सुरु गरे। उताबाट प्रस्ताव आयो 'म बिना लगानी पैसा कमाउने उपाय सिकाउने छु, तिमीले मैले भनेको कुराहरू गर्दै जानुपर्छ।’
लगानी गरेर त पैसा कमाउन हम्मेहम्मे हुने बेलामा केवल उनले भनेको मानेकै भरमा, एक पैसा लगानी नगरी पैसा कमाउन सकिने भए किन नकमाउने? उनको मनमा लोभ पलायो। उनी राजी भए।
लगानी नगरी पैसा कमाउन अनलाइनबाटै केही कामहरू आउने र त्यसको कारोबार रकमको आधारमा कमिसन पाउने प्रस्ताव थियो। लगानी नगरी पनि कसरी पैसा कमाइन्छ भन्ने उनको मनमा शङ्कै आएन। उनी राजी भए।
उताबाट उनको बैंक खाताको विवरण मागियो। उनले सहजै आफ्नो सिद्धार्थ र नबिल बैङ्कमा रहेको खाता नम्बर पठाइदिए। खाता नम्बर दिएकै आधारमा अपरिचितले किन पैसा पठाउँथे र! उनलाई यस्तै लागेको रहेछ।
तर २०८१असोज १७ साउनको सिद्धार्थ बैङ्कको खातामा तीन लाख जम्मा भयो। बैंक खातामा पैसा जम्मा भए लगत्तै टेलिग्रामको त्यही अकाउन्टबाट उनलाई मेसेज आयो 'तिम्रो खातामा तीन लाख आयो होला! तिमीले पैसा प्राप्त भएको प्रमाण स्वरूप बैंक स्टेटमेन्टको स्क्रिनसट पठाउ !'
उनले मोबाइल बैङ्किङमा पैसा आएको मेसेजको स्क्रिनसट पठाइदिए। त्यसपछि उनलाई पालैपालो विभिन्न तीन बैङ्कको खाताको क्युआर कोडसँगै पहिलोमा ५०हजार, दोस्रो खातामा एक लाख अनि तेस्रो खातामा एक लाख ३० हजार रुपैयाँ डिपोजिट गर्न भनियो। बाँकी रह्यो २० हजार। त्यो चैँ उनले आफ्नो खातामा आएको पैसा ट्रान्सफर गरे बापतको स्यालरी भनियो।
केही कामै नगरी २० हजार कमाइ भयो भनेर मक्ख पर्दै उनले मेसेजमा जे निर्देशन आयो त्यही अनुसार विभिन्न बैंक खातामा रकम ट्रान्सफर गरिदिए। २० हजार रुपैँया आफ्नो नबिल बैङ्कको खातामा ट्रान्सफर गरे।
त्यसको केही दिनमै तीन लाख आएको उनको सिद्धार्थ बैङ्कको खाता चलेन। उनले बैङ्कमा बुझ्दा बैंक खाता प्रहरीको साइबर ब्यूरोको निर्देशनमा रोक्का राखिएको जानकारी पाए।
कतै फसियो कि क्या हो ! अब भने उनको मनमा शङ्का पस्यो। केही दिनपछि उनलाई साइबर ब्यूरोबाट कल आयो। उनी २०८१ पुस २ मा साइबर ब्यूरोमा पुगे लगत्तै पक्राउ परे।
अर्को घटना :
जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय सञ्जीव कुमार शर्मा एक किराना पसलमा बिल काट्ने काम गर्थे। फेसबुक चलाउने क्रममा उनले पनि 'घरमै बसेर अनलाइन जागिर गर्ने हो भन्ने' लिङ्क देखे।
लिङ्क क्लिक गर्ला इमेल मागियो। उनले सहजै आफ्नो इमेल दिए। उनको इमेलमा ह्वाट्सएपको लिङ्क आयो। उनले सहजै लिङ्क क्लिक गरेपछि विदेशी मोबाइल नम्बर आयो।
उनी उत्साहित हुँदै सन्देश पठाए ‘हाई’। उताबाट उनको नाम, उमेर र पेशा सोधियो। उनले पेशा बेरोजगार लेखेर अन्य विवरण सत्य नै पठाए। अनि 'अनलाइन जागिरका लागि इच्छुक हो भने सम्पर्क गर्न' भनेर टेलिग्रामको लिङ्क आयो।
उनले लिङ्क क्लिक गर्दा टेलिग्राममा@DF-KK नामको अकाउन्ट खुल्यो। कुराकानी अगाडि बढ्यो। उताबाट यस्तो काम विश्वभरि चलिरहेको छ भन्दै उनीसँग बैंक खाताको क्युआर मागियो। उनको जिम्मेवारी थियो आफ्नो बैंक खातामा आएको रकम उनीहरूले पठाएको क्युआर कोड अनुसारको अन्य बैंक खातामा पठाउने। त्यसबापत एक पटक पैसा पठाए बराबर पाँच सय रुपैयाँ आउने भनियो। उनी तत्काल राजी भए।
उनले माछापुच्छ्रे बैंक, शाखा कार्यालय राजविराजको क्युआर कोड पठाइदिए। असोज १८ मा उनको खातामा तीन लाख रकम आयो। टेलिग्राममा जुन जुन बैङ्कको क्युआर आउँथ्यो उनले त्यसमा आफ्नो अकाउन्टबाट रकम पठाइरहे। एक्कासि उनको बैंक खाता रोक्का भयो। बैङ्कमा बुझ्दा साइबर ब्युरोको निर्देशनमा बन्द भएको जानकारी आयो।
उनले टेलिग्रामको रहेको अकाउन्टका व्यक्तिसँग कुरा गर्ने प्रयास गरे। तर ह्वाट्सएप अनि टेलिग्राम दुवै डिएक्टिभेट भइसकेको थियो। उनी सामान्य रकममा लोभिँदा गम्भीर साइबर अपराधमा फसिसकेका थिए। पुस ३ गते उनी पनि राजविराजमै पक्राउ परे।
OOO
अहिले त्रियुग अनि शर्माजस्तै सहजै पैसा पाउने लोभमा परेर आफ्नो व्यक्तिगत बैंक खाता अरूलाई प्रयोग गर्न दिने, बैंक खातामा आएको रकम कुन प्रयोजनका लागि हो भन्ने वास्तै नगरी अपरिचितले जे भन्यो त्यही मान्ने १० जना प्रहरी हिरासतमा छन्।
एफवानसफ्टको सिटिजन बैङ्कमा रहेको खाताबाट अनधिकृत रकम निकालेको अभियोगमा उनीहरुसहित २४ जनाविरुद्ध प्रहरीले अनुसन्धान सक्काएर जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता भइसकेको छ। अभियोग पत्रमा उनीहरूमाथि ३ करोड ३९ लाख ५० हजार बिगो र बिगो बराबरको हर्जानाको माग गरिएको छ।
माग अनुसार अदालतबाट सजाय भयो भने हजारको लोभमा फसेर आफ्नो बैंक खाता भाडामा लगाउने त्रियुगसहितका २४ जनाबाट ६ करोड ७८ लाख तिर्नुपर्नेछ। २० हजारको लोभमा बैंक खाता भाडामा लगाउँदा त्रियुगको भागमा २८ लाख २५ हजार पर्ने देखिन्छ।
साइबर ब्यूरोका एसपी दीपकराज अवस्थी मिहिनेत नगरी पैसा कमाउने लोभलाई हतियार बनाएर अन्तराष्ट्रिय रुपमा सक्रिय अपराधीहरूले नेपाली युवाहरूलाई सहजै गम्भीर अपराधमा जोडिरहेको बताउछन्। यति सहजै पनि कसैले पैसा दिन्छ र भन्नेसम्म नसोची आफ्नो ब्यक्तिगत खाता अनि विवरणहरू सहजै अर्कालाई प्रयोग गर्न दिँदा पक्राउ पर्नेहरुको संख्या बढिरहेको उनले बताए।
अवस्थीका अनुसार प्रारम्भमा चिट्ठा परेको भन्दै नेपालमा प्रवेश गरेको प्रविधिमा आधारित ठगीको जालो फैलँदै अहिले बैंक अकाउन्टमा अनधिकृत पहुँच पूर्याएर हुने रकम चोरी, जुवाको रकम व्यवस्थापनदेखि हुन्डीसम्मका गम्भीर वित्तिय अपराधमा संलग्न हुने युवा समूहको सङ्ख्या बढ्दो छ।
जब सङ्गठित अपराधको पोल खुल्छ तब पहिलो चरणमा पक्राउ पर्ने यही सीमित आर्थिक लोभमा परेर बैंक खाताजस्तो व्यक्तिगत र महत्त्वपूर्ण साधन अर्काको स्वार्थमा प्रयोग गर्नेहरू नै हुन्छन्। अधिकांश यस्ता घटनामा पक्राउ पर्नेहरूमा ठुलो समूह यस्तै देखियो। ठगीको योजना बनाउने र योजनाको कार्यान्वयन गराउनेहरू अझै नेपाल प्रहरीको पहुँचबाट टाढै देखिन्छन्।
‘आर्थिक फाइदा हुने लोभमा व्यक्तिगत बैंक खाता जस्तो महत्त्वपूर्ण साधनलाई सहजै जसलाई पनि प्रयोग गर्न दिने, आफ्नो नाममा खाताहरू खोलिदिएर अर्कैलाई चलाउन दिने, आफ्नो खातामा कहाँबाट, के को पैसा आइरहेको छ वास्तै नगर्ने क्रम बढिरहेको छ,’ ब्यूरोका प्रवक्ता समेत रहेका अवस्थीले उकेरासँग भने‘यसले नेपाललाई लक्षित गरेर प्रविधिमार्फत आर्थिक अपराध गर्नेहरूले सहजै आफ्नो जालो फैलाइरहेको देखिन्छ। यो प्रहरीको एकल प्रयासले मात्र नियन्त्रण सम्भव हुन्न।’
पक्राउ परेका अधिकांश सामान्य सहयोगी
एफवानसफ्टको सिटिजन बैंकमा रहेको खाताबाट साढे तीन करोड रकम चोरिएपछि आएको उजुरीको आधारमा साइवर ब्युरोले यसमा संलग्न २४ जना नेपालीको पहिचान गर्यो। ती २४ मध्ये १० जना पक्राउ परे। १४ जना फरार छन्।
यसमा जति जना पक्राउ परेका छन् ती सबै यो घटनाको सामान्य सहयोगी मात्र देखिए। उनीहरुको काम कसैले आफ्नो बैंक खाता मागेमा दिने अनि त्यसमा आउने पैसा अन्य जुन जुन खातामा हाल्न भन्छन् हालिदिने। केहीले भने आफ्नो नाममा विभिन्न बैंकमा खाता खोलेर इ-बैंकिङ सुविधा लिएर अर्काको मोवाइलमा सक्रिय गराउने गरेको देखियो।
त्यही मध्येका एक हुन् राहुल ठाकुर। सामान्य फलामको काम गर्ने उनले पुरुषोत्तम साहले मागेको आधारमा नबिल बैंकमा रहेको आफ्नो बैंक खाता नम्बर र सो खाताको अनलाइन बैंकिङ चलाउने सुविधा पनि साहलाई दिए। त्यो खातामा समस्या भयो भनेर पुरुषोत्तम आएपछि उनले सिदार्थ र कुमारी बैंकमा नयाँ खाता खोलेर उनैलाई दिए।
जव मंसिर २६ मा उनी पक्राउ परे त्यो बेलासम्म उनको खाताहरुबाट ८० लाख रुपैँया कारोबार भएको खुल्यो। त्यो रकम एफवानसफ्टको सिटिजन बैंकको खाताबाट चोरेर उनको खातामा रकमान्तर भएको थियो। त्यो रकम पनि अन्तै खातामा गइसकेको थियो। तर यो अपराधमा उनको खाताको प्रयोग भएकाले उनी पक्राउ परे।
यही घटनाका अन्यले प्रहरीमा दिएको बयान हेर्दा पनि सबैले सहजै पैसा कमाउने लोभमा आफ्नो बैंक खाता अन्यको स्वार्थमा प्रयोग गरेको देखिन्छ।
यो प्रकरणको अनुसन्धान गरेको साइवर ब्युरोका प्रवक्ता एसपी अवस्थीका अनुसार एफवानसफ्टको निस्क्रिय युजरनेम र पासवर्ड प्रयोग गरेर उसको सिटिजन बैंकमा रहेको खाताको रकम अनधिकृत रुपमा अन्यत्र रकमान्तरण भएको देखिएको छ।
यसरी प्रारम्भमा रकम रकमान्तर गराउन त्रियुग लगायतका त्यही १० जनाको नाममा विभिन्न बैंकमा रहेको खाताको प्रयोग भएको छ। उनीहरुले विभिन्न बहानामा नेपाली युवाहरूलाई प्रलोभनमा पारेर सहजै रकम नेपाल बाहिर पूर्याइसकेको देखिएको अवस्थीले जानकारी दिए।
अहिले जति पनि पक्राउ परेका छन् उनीहरु सामान्य सहयोगी मात्रै हुन्। यो घटनाको मुख्य योजनाकार को-को हुन् अनि रणनीति बनाएर रकम झिक्ने र सो रकम विभिन्न नेपाली नागरिकको खातामा पुर्याएर नेपाल बाहिर पठाउनेहरु को-को हुन् ? खुलेको छैन।
अर्थात यो घटनाको रणनीति बनाउने र रणनीति कार्यान्वयन गर्ने पहिलो र दोस्रो चरणका कसैको पनि पहिचान हुनै सकेको छैन। यसमा संलग्न जे जतिको पहिचान खुल्यो र जो-जसको बैंक खाता प्रयोग भयो ती सबै सहयोगी मात्र हुन्।
‘अहिलेसम्मको अनुसन्धानमा पक्राउ परेकाहरु सहयोगी हुन्। यसको योजना बनाउने र योजना कार्यान्वयनमा ल्याउनेहरु को-को हुन् पहिचान भएको छैन,’ अवस्थीले उकेरासँग भने ‘अनुसन्धान त जारी छ। तर निकै जटिल देखिन्छ।’
एकै प्रविधी,नयाँ-नयाँ माध्यम
ठगीमा प्रयोग भइरहेको सूचना प्रविधी नै हो। तर माध्यमहरु भने बदलिइरहेको देखिन्छ। केही वर्ष अगाडि प्रहरीमा आउने साइबर ठगीको उजुरीहरुमा एसएमएस र फेसबुक मेसेन्जरको संख्या उच्च देखिन्थ्यो। एसएमएस अनि फेसबुक मेसेन्जरमा चिट्ठा परेको भन्दै सो सामान पठाउन सिपिङ लगायतको बहानामा रकम मागेर ठगी हुन्थ्यो। त्यो बेलामा ब्यक्तीगत बैंक खाताको दुरुपयोग शुरु भएको थिएन।
उस्तै प्रकृतीको ठगीका घटना चलिरहे। तर त्यो सरेर ह्वाट्सएपतिर गयो। ह्ट्सएपमा उसैगरी चिट्ठा परेको भन्दै बैंक खाता विवरण माग्ने, सामान पठाउन चाहिने शुल्क भन्दै पैसा माग्ने र सम्पर्कहिन हुने घटना बढेका थिए।
अहिले यसमा टेलिग्रामको प्रयोग हुने गरेको देखियो। त्यसका लागि माध्यम भने उही फेसबुकमा नक्कली विज्ञापन गरेर लोभ्याउने, ह्वाट्सएपबाट सम्पर्क गरेर टेलिग्रामसम्म ल्याएर आफू अनुकुल प्रयोग गर्ने गरेको देखियो।
अनलाइन जुवामा पनि भाडाको बैंक खाता
विभिन्न आवरणमा हुने अपराधको रकम व्यवस्थापन गर्न बैंक खाता भाडामा लगाउनेक्रम अनलाइन जुवाले समेत बढाएको देखिन्छ। जुवा ऐनले नेपालमा कुनै पनि प्रकारको जुवा खेल्न र खेलाउन प्रतिबन्ध छ। तर गैर कानुनी भए पनि नेपालमा यसको प्रभाव रोकिएको छैन।
गैर कानुनी भएकाले अनलाइनबाट जुवा खेल्न सम्बन्धित वेबसाइटमा पैसा जम्मा गर्न अनि जितेको पैसा सहजै झिक्न सम्भव छैन। अनलाइन जुवा र सट्टा खेलाउने र खेल्नेहरूबारे प्रहरीले अनुसन्धान गर्न उनीहरूले कानुनी बाटो छल्न कमिसनको प्रलोभन दिएर अर्काको नाममा रहेको बैंक खाता भाडामा लिएर जुवाको रकमको कारोबार गर्ने गरेको खुलेको थियो। अनुसन्धानमा खुलेका तथ्यहरू निकै गम्भीर थिए।
वुल्फत्रिपलसेभेन नामको अनलाइन जुवा खेलाउने वेबसाइटबाट जुवा खेलेको अनि खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नितेश हरिजन, आकाश मिश्र, प्रतीक बस्याल, रामु गिरी, सजल श्रेष्ठ र अभिषेक जैसवाललाई पक्राउ गर्यो।
२०८१ जेठ ३० मा अनुसन्धान सुरु गरेको प्रहरीले यसमा विजय जैसवाल, रविन प्रसाद कानु र दुर्गाराज श्रेष्ठसमेत संलग्न रहेको खुलायो। तर यी पक्राउ परेनन्। जेठ ३१ बाट सुरु भएको खोजीकोक्रममा पक्राउ परेकाहरु मध्येका नितेश हरिजन यो समूहको सबैभन्दा सक्रिय सदस्य देखिए। उनी महादेव इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक हुन्।
प्रहरीले जब अनुसन्धान सुरु गर्यो जुवाको अवैध रकम कारोबारमा कसरी नेपालको बैङ्कहरूको खाता भाडामा लाग्ने गरेको छ भन्ने जालो नै खुलायो।
हरिजनको बयान अनुसार उनले वुल्फत्रिपलसेभेनको वेबसाइटमा अनलाइन जुवा खेल्ने गरेका थिए। जुवा खेल्न आवश्यक पर्ने रकम सिधै साइटमा लोड गर्न नमिले पनि एजेन्ट मोहित सेन ठकुरीले ह्वाट्सएपमा कुनै बैङ्कमा रहेको खाताको क्युआर कोड पठाउँथे। उनले त्यसमा रकम जम्मा गरे ह्वाट्सएपमै स्क्रिनसट पठाएपछि साइटमा जुवा खेल्न पोइन्ट जम्मा हुन्थ्यो।
जुवा खेल्दै गर्दा मोहित सेन ठकुरीले उनलाई तिमीले विभिन्न व्यक्तिहरूको बैंक खाता उपलब्ध गराएमा खातामा कारोबार हुने रकमको एक प्रतिशत कमिसन दिने अफर गरे।
उनले विजय जैसवाललाई विभिन्न बैङ्कका खाताहरू उपलब्ध गराएमा खातामा हुने कारोबार रकमको ०.५० प्रतिशत कमिसन दिने प्रलोभन देखाए। जैसवालले खातामा हुने कारोबारको 0.२५ प्रतिशत कमिसन पाउने लोभ देखाएर प्रतीक बस्याल, रामु गिरी र आकाश मिश्रलाई विभिन्न बैङ्कमा खाता खोल्न मनाए।
प्रतीक र रामुको नाममा सानिमा बैंक र मुक्तिनाथ विकास बैङ्कमा खाता खोलियो। मुक्तिनाथ विकास बैङ्कमा समस्या देखिएपछि उनीहरूकै नाममा साङ्ग्रिला विकास बैङ्कमा खाता खोले। आकाश मिश्रको नाममा ग्लोबल आईएमई बैंक र सानिमा बैङ्कमा खाता खोलेर सबै बैंक खाताको विवरण एजेन्ट बनेका मोहित सेन ठकुरीलाई पठाए। ठकुरीले यी खाताहरू जुवाको भुक्तानी लिन प्रयोग गरे। जब पोल खुल्यो प्रहरी फन्दामा परे।
प्रहरी अनुसन्धानमा आकाश मिश्रको सानिमा बैङ्कमा रहेको खाताबाट १२ दिनको अवधिमा ६३ लाखको कारोबार भएको खुल्यो। ग्लोबल बैङ्कको खाताबाट आठ लाखको कारोबार भएको देखियो। दुवै कारोबारबाट आउने कमिसन बापतको १७ हजार उनले ई सेवाबाट पाए।
प्रतीक बस्यालको बैंक खाताबाट ३२ दिनको अवधिमा तीन करोड ४३ लाखको कारोबार भएको खुल्यो। त्यसबापत उनले एक लाख रुपैयाँ पाएको खुल्यो। रामु गिरीको खाताबाट ६६ दिनमा चार करोड ३३ लाख कारोबार भएको थियो। उनले पनि बैंक खाता भाडामा लगाए बापत एक लाख पाएका थिए।
दुबइको रियलस्टेटमा काम गर्ने सजल श्रेष्ठले खाता उपलब्ध गराए बापत मासिक ३० हजार पाउने लोभमा आफ्नो बाबुको नाममा नेपालमा खाता खोल्न लगाएर जुवाको पैसा ओसारपसारका लागि प्रयोग मात्र गरेनन् उनले अन्यलाई समेत प्रलोभनमा पारेर बैंक खाताहरू खोल्न लगाए। उनले आफ्नो बाबुको नाममा माछापुच्छ्रे बैङ्कमा खोलेको खातामा ७६ दिनमा तीन करोड ४४ लाख कारोबार भएको खुल्यो।
उनले बैङ्कमा खाता खोलेर त्यसको ई-बैङ्किङको पहुँच दिए बापत एक खाता बापत मासिक १५ हजार दिने भन्दै नेपालमा रहेका हरिबहादुर अधिकारीमार्फत पाँच जनाको नाममा विभिन्न बैङ्कमा १३ वटा खाता खोलेर सो खाता प्रयोगको सबै पहुँच नै हस्तान्तरण गरेका थिए।
प्रहरी अनुसन्धानमा यो समूहले २ महिनाको अवधिमा विभिन्न बैङ्कका खाताहरूबाट २४ करोडको कारोबार गरेको खुल्यो जुन सबै जुवा खेल्ने अनि खेलाउने प्रयोजनमा प्रयोग भएको थियो।
कसरी लिन्छन् भाडामा?
प्रहरी अनुसन्धानमा खुलेका तथ्यहरू र पक्राउ प्रतिवादीहरूलाई बयान हेर्दा अपराधबाट सङ्कलन गरिएको अवैध रकम ओसार-पसार गर्न सक्रिय समूहले दुई प्रकारले नेपाली नागरिकको बैंक खाता भाडामा लिने गरेको देखियो।
पहिलो उनीहरूले अनलाइन जागिर, घरमै बसिबसी पैसा कमाउन सकिने जस्ता विज्ञापन सामाजिक सञ्जालमा राखेर त्यसबाट सम्पर्कमा आएकाहरूलाई यसमा प्रयोग गर्ने गरेको देखियो।
अनलाइन रोजगारीका लागि बैंक खाता आवश्यक हुने भन्दै उनीहरूको बैंक खाता लिएर त्यसमा पैसा राखिदिने र आफ्ना अन्य एजेन्टहरूको खातामा रकम पठाउन लगाउने गरेको देखिन्छ। त्यस बापत जसको खाता प्रयोग भएको हो उसलाई तलब वा कामको कमिसन भन्दै केही रकम दिने गरेको देखिन्छ।
यस्तोमा खाता सञ्चालक जबसम्म प्रहरीको अनुसन्धानको दायरामा तानिँदैनन् काम गरे बापतको रकम भनेर ढुक्कले बस्छन्।
दोस्रो शैलीमा एजेन्ट परिचालन गरेर नयाँ खाता खोल्न लगाउँछन्। त्यसमा आफ्नो मोबाइल नम्बर राख्न लगाएर अनलाइन पेमेन्टको सुविधा लिएर सो बैंक खाता एजेन्ट आफैँले चलाउँछन्। जब अनुसन्धान सुरु हुन्छ खातावाला पक्राउ पर्छन्।
तेस्रो शैली भनेको नयाँ खाता खोल्न लगाएसँगै सम्बन्धित खातावालाकै नाममा नयाँ मोबाइल सिम निकाल्न लगाउँछन्। नयाँ बैंक खाता खोल्दा नयाँ सिमबाट अनलाइन कारोबार गर्न अनुमति लिन्छन्। नयाँ इमेल खोल्न लगाएर त्यसको पासवर्ड आफैँले लिन्छन्। जबसम्म सो खाता अनुसन्धान गर्ने निकायको नजरमा परेर रोक्का हुन्न, तबसम्म एजेन्टले मोबाइल सिम लिएर आफैँ प्रयोग गर्छन्।
योजनाकारसम्म पुग्दैन अनुसन्धान
वुल्फत्रिपलसेभेनको अनुसन्धानमा भारतीय नागरिक करण, ज्याकी र मोहित सेन ठकुरीको नाम खुलेको थियो। तर अहिलेसम्म यी पक्राउ पर्ने त कुरै छाडौँ पुरा परिचय समेत खुल्न सकेको छैन। अन्य आपराधिक घटनाको अवस्था पनि यस्तै छ।
अहिलेसम्म यस्ता घटनामा पक्राउ पर्ने खातावाला र खाता खोल्न लगाउनेहरू नै हुन्। वुल्फत्रिपलसेभेनको घटनामा पनि जो-जो पक्राउ परे ती सबै कमिसनको लोभमा आफ्नो खाता भाडामा लगाउनेहरू नै थिए।
एउटा खाता नम्बर दिए बापत ३० हजार कमिसन पाउने लोभमा परेका सजल श्रेष्ठ पक्राउ परे। छोरालाई किन बैंक खाता चाहियो भन्ने थाहा पत्तो नपाएका उनका ५८ वर्षका बाबु दुर्गालाल श्रेष्ठ पनि फसे यसमा। छोरा धरौटीमा छुट्दा बाबु फरार छन्।
नियामकको शैली झारा टार्ने
बैङ्किङ कारोबारमा सबैभन्दा पहिलो जानकार सम्बन्धित बैंक नै हुन्छ। कुनै कारोबार शङ्कास्पद देखिए त्यसबारे नेपाल राष्ट्र बैङ्कलाई जानकारी दिने दायित्व सम्बन्धित बैङ्कको भए पनि बैङ्कको जानकारीका आधारमा राष्ट्र बैंक हुँदै प्रहरीमा सूचना आएर सुरु भएको अनुसन्धानको सङ्ख्या निकै कम देखियो।
बैङ्किङ च्यानलमार्फत हुनसक्ने शङ्कास्पद आर्थिक गतिविधिको सूचना सङ्कलन, विश्लेषण र सम्बन्धित निकायमा सूचना सम्प्रेषण गर्न नेपाल राष्ट्र बैङ्कमा स्वतन्त्र र शक्तिशाली फाइनान्सियल इन्टेलिजेन्स युनिट समेत छ। तर यो पक्षमा सो युनिटको प्रभावकारी अनुगमन देखिएन।
अधिकांश यस्ता घटनाहरू पीडित वा प्रहरीले आफैँले पाएको सूचनाका आधारमा सुरु गरेको अनुसन्धानबाट खुल्ने गरेको देखियो। केही सूचना मात्र फाइनान्सियल इन्टेलिजेन्स युनिटबाट आएको देखियो।
सूचना प्रविधिको दुरुपयोगमार्फत भइरहेको गम्भीर आर्थिक अपराध नियन्त्रणमा राष्ट्र बैंक कुन हदसम्म निष्क्रिय रहेछ भन्ने बलियो उदाहरण त एफवानसफ्टको सिटिजन बैङ्कमा रहेको खाताबाट चोरी भएको रकम देशबाट बाहिरिँदासम्म चालै नपाएको घटनाबाटै खुल्यो। राष्ट्र बैङ्कका जिम्मेवार अधिकारीहरू कतिसम्म जिम्मेवारहिन छन् भन्ने यो घटनाबारे उनीहरूले दिने प्रतिक्रियाले पनि देखाउँछ।
व्यक्तिको बैङ्कको खाता आपराधिक आर्थिक गतिविधिमा भाडामा लाग्ने बढ्दो क्रम अनि एफवानसफ्टको घटनाबारे नेपाल राष्ट्र बैङ्कका प्रवक्ता रामु पौडेलसँग जिज्ञासा राख्दा उनी पुरै पन्छिए।
उनले घटनाको अनुसन्धानपछि बैङ्कको गल्ती देखिए बैङ्कहरू नै कारबाहीमा पर्ने अनि एफवानसफ्टबाट गल्ती भएको अवस्थामा संस्था नै कारबाही पर्ने बताए। चार महिना अगाडि भएको अनि अदालतमा अभियोग पत्र समेत दायर भइसकेको घटनामा कसको गल्ती देखियो त? उनीसँग जवाफ छैन। अर्थात् यो घटनालाई राष्ट्र बैंकले पुरै इग्नोर गरेको प्रस्टै देखियो।
बेटिङ्ग लगायतका आपराधिक घटनामा नेपाली बैङ्कका खाताहरू भाडामा लाग्नेक्रम बढेकोबारे जिज्ञासा राख्दा पनि उनले यसमा सम्बन्धित बैंक अनि राष्ट्र बैङ्कलाई जिम्मेवारीबाट पुरै पर राखे। उनले सबै दोष र जिम्मेवारी बैंक खाताका प्रयोगकर्ताको जिम्मामा दिए।
‘यसबारे प्रयोगकर्ता नै सचेत हुनुपर्छ। बैँकमा गैरकानुनी कारोबार भएको छ भन्ने जानकारी आएको खण्डमा मात्रै हामीले व्यक्तिको खाता हेर्न मिल्छ। होइन भने मिल्दैन। जुन बैँकमा खाता छ त्यो बैँकले हेर्न मिल्छ र राष्ट्र बैँकलाई जानकारी दिने व्यवस्था छ।’
वुल्फत्रिपलसेभेनको घटना जेठको हो जहाँ आधा दर्जन बढी नेपालीको खाता जुवाको रकम सङ्कलन र व्यवस्थापनमा प्रयोग गरियो। सामान्य नागरिकको खातामा चार महिनासम्म करोडौँ कारोबार हुँदासम्म न बैंकले सूचना दिए न राष्ट्र बैंकले। त्यसबारे राष्ट्र बैंकले के गर्यो त? उनीसँग जवाफ छैन।
निरीह प्रहरी, बेपर्बाह नियामक
नेपाल प्रहरीका पूर्व डिआइजी पीताम्बर अधिकारी यस्तो घटनाबारे फ्रन्ट लाइनमा प्रहरी देखिने तर स्रोतसाधन र निरन्तर भइरहेको राजनीतिक हस्तक्षेपका कारण बढ्दो साइबर अपराधको अनुसन्धानको चुनौती सामना गर्न प्रहरी सङ्गठन सक्षम हुन नसकेको बताउँछन्।
अपराध अनुसन्धान र नियन्त्रणमा बढ्दो चुनौती नियन्त्रणमा प्रहरी सङ्गठनलाई साधन सम्पन्न र सक्षम बनाउनभन्दा सत्तामा रहेकाहरूले सङ्गठनमा रहेका आफू निकटको वृत्ति विकास र राजनीतिक स्वार्थमा मात्रै केन्द्रित हुँदा अहिलेको प्रहरी संरचना, साधन र जनशक्तिले बढ्दो साइबर अपराधको नाइकेसम्म पुग्नेतहको अनुसन्धान र नियन्त्रण गर्न नसक्ने उनको टिप्पणी छ।
‘हिजोका दिनमा प्रविधिको प्रयोग नगरी हुने अपराधको अनुसन्धान जटिल भए पनि व्यक्तिगत तहमा गरिने मिहेनतबाट सम्भव थियो। तर प्रविधिको प्रयोग गरेर हुने अपराधमा व्यक्तिगत मिहिनेतले मात्र काम गर्दैन। साधन र सिप पनि चाहिन्छ जुन प्रहरी सङ्गठनमा निकै कम छ,’ उनले भने‘ सत्ता नेतृत्व प्रहरीलाई सबै प्रकारका अपराध अनुसन्धानमा बलियो बनाउने भन्दा पनि कमजोर बनाउन लागेको प्रस्टै देखिन्छ। त्यसैले गम्भीर प्रकारको साइवर अपराध नियन्त्रण प्रहरीले चाहेर पनि गर्न सकेको देखिँदैन।’
जसको जे जिम्मेवारी हो त्यो नगरी प्रहरीलाई देखाउने प्रचलनले समेत नेपाल सूचना प्रविधिबाट हुनसक्ने गम्भीर अपराधका लागि सहज भूमि बन्दै गएको उनको थप विश्लेषण छ।
‘कुन व्यक्तिको खातामा कस्तो कारोबार भइरहेको छ त्योबारे जानकारी पाउने पहिलो स्रोत बैंक अनि दोस्रो स्रोत नेपाल राष्ट्र बैंक हुन्,’ उनले भने ‘कुनै व्यक्तिको बैङ्कको खाता अपराधमा प्रयोग भएको जानकारी आएपछि प्रहरीले अनुसन्धान गर्ने हो। खाताबाट करोडौँ कारोबार भएर सो रकम नेपाल बाहिर पुग्दासम्म पनि बैंक तथा राष्ट्र बैङ्कबाट प्रहरीले सूचना नपाउनु भनेको बैंक अनि राष्ट्र बैङ्कको ठुलो कमजोरी हो। तर यी दुवै निकाय प्रहरीलाई देखाएर पन्छिन्छन्।’
उनले अनजानमा वा लोभमा परेर वा जानाजान जुन रूपमा भए पनि आफ्नो व्यक्तिगत बैंक खाता अर्कालाई प्रयोग गर्न दिनु भनेको सचेतनाको कमी समेत रहेको बताउँछन्।
‘आफ्नो खाता प्रयोग गर्ने सबै अधिकार अर्को व्यक्तिलाई दिनु वा आफ्नो खातामा कतैबाट आएको पैसा जसले पठाएको हो उसले भने अनुसार गर्नु भनेको ज्ञानको कमीले पनि हो,’ उनले भने ‘वित्तीय अपराधमा सबैभन्दा सहजै ट्र्याक हुने नै बैंक खाता हो। अन्य कसैले दुरुपयोग गरुन् या लोभमा परेर व्यक्तिगत खाता प्रयोग गर्न दिएको होस्, कानुन अनुसार दोषी त खातावाल नै हुने हो। सीमित आर्थिक फाइदाको लोभमा करोडौको आर्थिक अपराधमा फस्न सकिन्छ भनेर सचेतना बढाउन आवश्यक छ।'
पुष २३, २०८१ मंगलबार २१:५४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।