उकेरा टप फाइभ : गरिबी निवारणमा सरकारी ‘ताला’देखि चौथो अंगमा विज्ञान अधिकारीसम्म

उकेरा टप फाइभ : गरिबी निवारणमा सरकारी ‘ताला’देखि चौथो अंगमा विज्ञान अधिकारीसम्म

काठमाडौं : चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रेक्टर स्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए। यद्यपि विवरण सङ्कलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी छ। 

सत्तारूढ दल एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ। आइतबारदेखि सुरू भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ। तीन दिन चलेको केन्द्रीय कमिटी बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ छ।  

नाबालिग बलात्कारको आरोपमा काठमाडौँको एक विद्यालयको व्यवस्थापक समितिको अध्यक्ष तथा एमाले काठमाडौ जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेका छन्। लामाले सोही विद्यालयमा अध्ययनरत नाबालिग विद्यार्थीलाई बलात्कार गरेको उजुरी बौद्ध प्रहरी वृत्त परेपछि प्रहरीले उनलाई पक्राउ गरेको। काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता नवराज अधिकारीले लामालाई पक्राउ गरेको जानकारी दिए। 

सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो। 

अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार 

२०७८ जेठमा गरिबी निवारण कोष खारेज  भयो। कोष खारेज भएको तीन वर्षपछि पनि सरकारसँग गरिबी न्यूनीकरणको ठोस कार्ययोजना छैन। कोष खारेज हुँदा २१ प्रतिशत रहेको गरिबी अहिले पनि २० प्रतिशत (करिब ६० लाख जनसंख्या) मा अड्किएको छ।

कोष खारेजीको मुख्य कारण विश्व बैंकको सहयोग रोकिनु र कर्मचारीको भ्रष्टाचार थियो। कोषको १९ अर्ब रुपैयाँको हिसाब किताब अझै स्पष्ट छैन। हाल भूमि व्यवस्था मन्त्रालयले दुई कार्यक्रम सञ्चालन गरेको छ - गरिबसँग विश्वेश्वर कार्यक्रम र गरिब पहिचान कार्ड वितरण। तर न्यून बजेट र कमजोर समन्वयका कारण यी कार्यक्रम प्रभावकारी हुन सकेका छैनन्।
पूरा समाचार: गरिबी निवारणमा सरकारी ‘ताला’

अब स्वार्थ समूहहरू प्रकाशकमा मात्रै सीमित रहेनन्। उनीहरू पत्रकारसम्मै पुग्न थालिसके। जसले समाचार नै सेल्फ सेन्सरसिप भएर आउने खतरा छ। व्यक्तिगत रूपमा पत्रकारको धर्म नछाडेकाले त लिएका छैनन्। तर, के थाहा धेरै समाचार तिनै स्वार्थ समूहले गर्दा रोकिएको पो छ कि! प्रस्तुत छ, उकेराको नियमित स्तम्भ चौथो अंगमा ‘विज्ञप्तिमा अल्झिएको नेपाली पत्रकारिता’ शीर्षकमा केन्द्रित रहेर बिजमाण्डु डटकमका प्रधान सम्पादक विज्ञान अधिकारीसँग गरिएको कुराकानी। 
पूरा समाचार: चौथो अंग : आलोचनात्मक समाचार लेख्ने पत्रकारलाई स्वार्थ समूहले पैसा थमाउन खोज्छन्, सेयर दिन्छु भन्छन्

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले १८ करोड मूल्यका तीन स्वास्थ्य उपकरण खरिदको टेन्डरमा मिलेमतो गरेको खुलासापछि टेन्डर प्रस्तावको म्याद १० दिन थपिएको छ। मंसिर २३ मा आह्वान गरिएका टेन्डरमा निश्चित मेसिन उत्पादक कम्पनीको क्याटलग स्पेशिफिकेशनमा राखेर मिलेमतो गरेकोबारे उकेराले प्रमाणसहित खुलासा गरेको थियो। विभागले मंगलबारसम्म टेन्डर दर्ताको समय तोकेको थियो। तर उसले सोमबार बेलुका टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति संशोधन गर्दै १० दिन पर सारेको छ।
पूरा समाचार: स्वास्थ्यमा खरिद मिलेमतो: १८ करोडका तीन टेन्डरको बदमासी खुलेपछि म्याद थपियो

एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पार्टीबाट निकाल्नसक्ने चेतावनी गरेका छन्। तीन दिनदेखि पार्टी कार्यालय च्यासलमा भएको केन्द्रीय समिति बैठकलाई समान गर्ने क्रममा उनले बिन्दा र उषाकिरणलाई गरिएको निलम्बन फिर्ता नहुने बताए। त्यसअघि केही केन्द्रीय सदस्यहरूले निलम्बन फिर्ताको माग गरेका थिए। तर, त्यसमा ओली टसकोमस भएनन्। 
पूरा समाचार: बिन्दा र उषाकिरणलाई अर्को बैठकबाटै बिदा गर्ने ओलीको चेतावनी, भने 'एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ?'

चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प जाँदा साँझ ५ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन्। बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो। भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन्। डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ।
पूरा समाचार: चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

पुष २३, २०८१ मंगलबार २१:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।