गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
सुदूरपश्चिम : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य छ प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन सुरू भइसकेको सन्दर्भमा अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए।
'विश्वविद्यालय बनाउनुअघि गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र आगामी असारदेखि एमबिबीएसको पढाइ थाल्ने गरी तयारी भइरहेको छ, उनले भने।
शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए।
उनले विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै अस्पताल सञ्चालन र अध्यापन पनि सुरू गर्नुपर्ने भएकाले त्यसका लागि नीति निर्माण गर्नुपर्ने बताए।
'गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सबै दल सहमत छन्, सरकार काठमाडौं बाहिर पनि छ भन्ने पुष्टि गर्न पनि शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना हुन आवश्यक छ, उनले भने।
विश्वविद्यालय सञ्चालनपछि मात्रै अस्पताल चल्छ र एमबिबीएसको पढाइ हुन्छ भन्ने कुरा नभएको बताउँदै उनले थपे, 'अहिले नै अस्पताल चलाउन सकिन्छ, यसका लागि छात्रवृत्तितर्फका १२ जना चिकित्सक र १८ जना नर्सलाई गेटामा पठाएर तत्काल अहोरात्र आकस्मिक सेवा र सघन उपचार सेवा सञ्चालन गर्न लागेका छौं।'
गोदावरी नगरपालिकाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न सात अर्बको लागतमा एक वर्षअघि नै सुविधासम्पन्न भवन निर्माण भएका छन्। सङ्घर्ष समिति र स्थानीयको निरन्तरको दबाबपछि ती संरचनामा ५० शय्याको अस्पताल सञ्चालनमा ल्याइए पनि अस्पतालको सघन उपचार कक्ष (आइसीयु), जनरल बेड र आकस्मिक कक्षबाट अपेक्षाकृत सेवा प्रवाह हुन सकेको छैन।
पुष २३, २०८१ मंगलबार २०:३५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।