पूर्वउपराष्ट्रपति पुनलाई माओवादी उपाध्यक्ष बनाउने​​​​​​​ चर्चाकाबीच प्रचण्डले भने 'उहाँ आफैं राजनीतिमा आउन चाहनुहुन्छ'

पूर्वउपराष्ट्रपति पुनलाई माओवादी उपाध्यक्ष बनाउने​​​​​​​ चर्चाकाबीच प्रचण्डले भने 'उहाँ आफैं राजनीतिमा आउन चाहनुहुन्छ'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन्। 

पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताए। अब अभियानमार्फत व्यापकरूपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने उनको भनाई छ। 

बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए। 

बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उनको दाबी छ। 

अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकैदिन सुरू भएर एकैदिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरूलाई गालीगलौज होइन, देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताए। 

अध्यक्ष प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उनले सकृय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्यविभाजन गर्दा उनको पनि गरिने बताए। 

छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन 
बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ। छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषणा गरेका छन्। 

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ मा 'जनयुद्ध' मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ। सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए। 

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ। 

बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको एतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए।

पुष २३, २०८१ मंगलबार १९:१६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।