बिन्दा र उषाकिरणलाई अर्को बैठकबाटै बिदा गर्ने ओलीको चेतावनी, भने 'एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ?'
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पार्टीबाट निकाल्नसक्ने चेतावनी गरेका छन्।
तीन दिनदेखि पार्टी कार्यालय च्यासलमा भएको केन्द्रीय समिति बैठकलाई समान गर्ने क्रममा उनले बिन्दा र उषाकिरणलाई गरिएको निलम्बन फिर्ता नहुने बताए।
त्यसअघि केही केन्द्रीय सदस्यहरूले निलम्बन फिर्ताको माग गरेका थिए। तर, त्यसमा ओली टसकोमस भएनन्।
ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने, 'बिन्दा र उषाको प्रतिक्रिया हेर्दा ६ महिना पर्खिन सकिन्छ जस्तो लाग्दैन। अर्को बैठकमै पार्टीबाट बिदाको निर्णय हुन सक्छ। चम्केर बोल्ने?'
ओलीले बिन्दा र उषा कहिल्यै पार्टीको पक्षमा नबोलेको बरू पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखे।
'बिन्दा र उषा पार्टीको पक्षमा कहिल्यै बोलेनन् तर पार्टीको विरुद्धमा मिडियामा, फेसबुकमा, टिभीमा, युट्युबमा धाउने, एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ? ठूला कुरा गर्ने? ओलीले भने।
केही केन्द्रीय सदस्यहरूले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन फिर्ता हुनुपर्ने माग गरेका थिए। जवाफमा ओलीले उनलाई कारबाही गर्नै ढिलो भएको बताए।
भीम रावलले ०७४ मा आफूसँग उप तथा परराष्ट्रमन्त्री मागेको बताउँदै नदिएपछि देखाइदिने चेतावनी दिएको ओलीको दाबी छ।
'भीम रावलले पहिले नै पार्टी छाडेजस्तै हो। आफूलाई केन्द्रित गरेर मात्रै बोल्ने उनको बानी थियो। सधैँ धम्क्याएर नभए देखाइदिन्छु भन्नुहुन्थ्यो। ०७४ मा उहाँले उप र परराष्ट्र मन्त्री माग्नुभएको थियो, मैले नदिएपछि अनि देखाइदिन्छु भन्नुभएको हो, ती केन्द्रीय सदस्यले भने।
पुष २३, २०८१ मंगलबार १८:४८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।