तीन महिनापछि मधेश प्रदेश सभाको चौथो अधिवेशन सुरू
काठमाडौं : मधेश प्रदेश सभाको चौथो अधिवेशन सुरू भएको छ। अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए।
तीन महिनादेखि बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र सभामुख मण्डलले पढेर सुनाए।
बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि हरिनरायण महतो, चन्दन सिंह, जवाहर कुशवाहा, रमेशप्रसाद कुर्मिलाई मनोनयन गरेको हो।
मधेश प्रदेश सभाको तेस्रो अधिवेशन गत असोज ४ मा अन्त्य भएको थियो। प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संशोधनसहितका ‘बिजनेस’ प्रदेशसभामा छन्।
प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले 'मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन' सभामा पेश गर्ने कार्यसूची रहेको छ।
पुष २३, २०८१ मंगलबार १६:०७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।