प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र काबा बीच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई मंगलबार सम्मान र पुरस्कार प्रदान गरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को गत मङ्सिर २८ को निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुरस्कार प्रदान गरिएको हो। प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ।
गत कात्तिक १ देखि १४ सम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ देखि ७ सम्म भएको २०औं एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र गत साउन १७ देखि २० सम्म भुटानको थिम्पुमा भएको काबा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताए।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिए।
उनले भने, ‘आज तीन खेलका पुरस्कारहरू वितरण गरेका छौं तर कति खेलको पुरस्कार बाँकी होला, अहिलेसम्म त्यो पत्रहरू विभिन्न कारणले आइपुगेको छैन। तत्कालै त्यो पत्रहरू उपलब्ध गराइ दिनको लागि मैले आग्रह गर्छु। सिफारिस गर्ने बेला पक्षपात गरेको जस्तो देखिन्छ।’
नेपाल खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार प्राप्ति छिटो नहुँदा कहिलेकाही निराशा पनि पैदा हुने गरेको भन्दै अहिले पुरस्कार सम्बन्धी कानून बनेको एउटा खुसीको कुरा भएको बताए।
पुष २३, २०८१ मंगलबार १६:००:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।