संघीयताको विषयमा मधेश र माओवादी आन्दोलनको महत्व ठूलो छ : गगन थापा

संघीयताको विषयमा मधेश र माओवादी आन्दोलनको महत्व ठूलो छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कुनै पनि राजनीतिक दलहरू संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन्। 

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरूले नै संघीयताप्रति अनुदार रहेको बताए। 

उनले भने, ‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौं र लिएका छौं, कोही पनि संघीयताप्रति उदार छैनौं। एकदमै अनुदार छौं। यसमा रुची छैन। मैले नयाँ दलहरू पनि हेरें, क्षेत्रीय दलहरू पनि हेरें। जसले बाहिर जे जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन्।’

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठूलो महत्व रहेको बताए। संघीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने उनको भनाई छ। 

उनले भने, ‘संघीयताको विषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं। दुवै आन्दोलनको महत्व ठूलो छ। तर अलिक फरक रुपमा पनि हेर्नुपर्छ। केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नुपर्छ। शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ।’ 

कार्यक्रममा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यान्वयनको बिषय धेरै चुनौती र पेचिलो रहेको बताए। 

उनले भने, ‘संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ। यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्न स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्थ्यो। त्यहाँनेर ल्याकिङ भयो।’

पुष २३, २०८१ मंगलबार १५:२४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।