मधेश प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस, बारामा १० जना विद्यार्थी बेहोस

मधेश प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस, बारामा १० जना विद्यार्थी बेहोस

काठमाडौं : मधेश प्रदेशका आठ वटा जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। 

रौतहटसहित बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
 
भूकम्पको धक्का महसुस भएपछि यी जिल्लाका मानिसहरू घर बाहिर निस्केका थिए। वरपर कहीँ कतै पनि क्षति भएको छैन। तर, बारामा भने १० विद्यार्थीहरू बेहोस भएका छन्।

कलैया उपमहानगरपालिका वडा नम्बर-१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने १० जना विद्यार्थी बेहोस भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए। 

उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। उनीहरू डिस्चार्ज भइसकेको एसपी खड्काले बताए। 

मधेश प्रदेशका अन्य जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको भए पनि  मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
 
नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।

पुष २३, २०८१ मंगलबार १४:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।