नक्कली इन्सपेक्टर बनेर क्यानडा र अमेरिका पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
काठमाडौं : नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरी रहेका छन्।
उनीहरूको साथबाट नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक, नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत बरामद गरिएको छ।
उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारेर उनीहरूले वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्ने गरेका थिए। रकम उठाएर ठगी गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।
पुष २३, २०८१ मंगलबार १२:४५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।