‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन’

‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन’

विराटनगर : चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पका कारण कोशीका पहाडी जिल्लामा क्षतिको विवरण अहिलेसम्म आइसकेको छैन। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यसबारे जानकारी गराएका हुन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के-कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरू भइसकेको जानकारी दिए।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा  मानवीय  क्षतिको सूचना नआएको जानकारी दिए।

उनले भने, ‘स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ।’

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए। सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए।

भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए। उनले यसबाट जिल्लामा के-कस्तो क्षति भएको छ। विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए।

पुष २३, २०८१ मंगलबार १०:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।