स्वास्थ्यमा खरिद मिलेमतो: १८ करोडका तीन टेन्डरको बदमासी खुलेपछि म्याद थपियो

स्वास्थ्यमा खरिद मिलेमतो: १८ करोडका तीन टेन्डरको बदमासी खुलेपछि म्याद थपियो

काठमाडौँ : स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले १८ करोड मूल्यका तीन स्वास्थ्य उपकरण खरिदको टेन्डरमा मिलेमतो गरेको खुलासापछि टेन्डर प्रस्तावको म्याद १० दिन थपिएको छ। मंसिर २३ मा आह्वान गरिएका टेन्डरमा निश्चित मेसिन उत्पादक कम्पनीको क्याटलग स्पेशिफिकेशनमा राखेर मिलेमतो गरेकोबारे उकेराले प्रमाणसहित खुलासा गरेको थियो।

विभागले मंगलबारसम्म टेन्डर दर्ताको समय तोकेको थियो। तर उसले सोमबार बेलुका टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति संशोधन गर्दै १० दिन पर सारेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राखेको संशोधित टेन्डर सूचनामा करिब १८ करोडको यी तीन टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति पुस २३ (२०२५, जनवरी ७) बाट दश दिन बढाएर माघ ४ (२०२५, जनवरी १७) सम्मलाई सारिएको उल्लेख छ। यी टेन्डरको टेन्डर खुल्ने मिति पनि सोही दिन साढे एक बजेलाई तोकिएको छ। 

खरिद मिलेमतोमा विभागका  महानिर्देशक डा. विकास देवकोटा,  व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजंग रायमाझी, आपूर्ति व्यवस्थापन शाखा प्रमुख दयाकृष्ण पन्त र शाखाका पूर्व प्रमुख डा सुरेन्द्र चौरसिया जिम्मेवार देखिन्छन्। यसमा टेन्डर कागजात तयार पार्ने महाशाखाका दीपक अधिकारी र बायोमेडिकल इन्जिनियर आशिष चौहानको प्रत्यक्ष संलग्नता देखिन्छ।

उकेराले यस अगाडि तीन वटै टेन्डर कसरी लक्ड गरेर निश्चित कम्पनीलाई दिने रणनीति बनाइएको थियो भन्ने प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। उकेरामा प्रकाशित प्रमाणका आधारमा तीन वटै टेन्डरको स्पेसिफिकेसन बदनियतपूर्वक निर्माण गरी निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी बनाइएको पुष्टि हुन्छ।

प्रत्येक टेन्डरमा राखिएका सर्त र स्पेसिफिकेसनले प्रतिस्पर्धा सीमित गर्ने र निश्चित कम्पनीलाई फाइदा पुग्ने देखिन्छ। यति ठुलो रकमको खरिदमा समेत अन्तर्राष्ट्रिय बोलपत्र नगरी राष्ट्रिय बोलपत्रमा सीमित गरिएको छ।

टेन्डरको कागजपत्र निर्माण र स्वीकृतिमा स्वास्थ्य मन्त्रीको प्रत्यक्ष संलग्नता नभए पनि यस्ता प्रकारका खरिद मिलेमतोमा मन्त्रीको कहीँ न कहीँ भूमिका देखिँदै आएको छ। स्वास्थ्यमा प्रदीप पौडेल मन्त्री भएर आएपछि विभागले उपकरण किन्न गरेको यो पहिलो ठुलो टेन्डर हो। 

पहिलो टेन्डरमै बदमासी देखिएपछि छानबिन गराएर मिलेमतोमा संलग्न कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन मन्त्री पौडेलले तयारी गरेको सचिवालय स्रोतले बतायो। छानबिनकै लागि सो टेन्डरको म्याद थपिएको सचिवालय स्रोतको दाबी छ।

टेण्डरको स्पेशिफिकेशनमा बदनियतपूर्वक राखिएका प्रावधानहरू हेर्दा यो बदर गर्नुपर्ने प्रकृतिको रहे पनि विभागका जिम्मेवार अधिकारीहरू भने टेण्डरको स्पेसिफिकेसन संशोधन गराएर चाहेकै कम्पनीलाई जसरी पनि टेण्डर दिने रणनीतिमा सक्रिय देखिन्छन्।

टेन्डरका विवरण र अनियमितता:

१. ४के-३डी ल्याप्रोस्कोपिक स्टिम (४ करोड)

- जर्मनीको कार्ल स्टोर्जको क्याटलग कपी-पेस्ट

- नेपाली एजेन्ट एचएमटीका अमर श्रेष्ठलाई लक्षित

- तीन वर्षमा तीन करोडका दुई टेन्डर पाएको हुनुपर्ने सर्त

 २. एनेस्थेसिया मेसिन (७ करोड २० लाख)

- भारतको बीपीएल कम्पनीको 'इ-फ्लो' सिरिजको विशेषता समावेश

- लुम्बिनी हेल्थ केयरका पोस्टराज ज्ञवालीलाई लक्षित

- तीन वर्षमा ५.१६ करोडका दुई टेन्डर चाहिने व्यवस्था

- २५ सेट खरिद गर्ने योजना

 ३. सिटिजी र इलेक्ट्रो सर्जिकल युनिट (७ करोड २० लाख)

- इटालीको लिडको 'सुरट्रोन ४०० एचपी' मोडलको स्पेसिफिकेसन कपी

- पर्सा इम्पोरियमका शशी श्रीवास्तवलाई लक्षित

- तीन वर्षमा ४.८ करोडका दुई टेन्डर आवश्यक

- सिटिजी २५ सेट र इलेक्ट्रो सर्जिकल युनिट ५० सेट खरिद लक्ष्य

 प्रमुख अनियमितताहरू:

- विदेशी कम्पनीका क्याटलग र स्पेसिफिकेसन सीधै प्रयोग

- अन्तर्राष्ट्रिय प्रतिस्पर्धा रोक्न राष्ट्रिय स्तरको टेन्डर मात्र आव्हान

- नयाँ आपूर्तिकर्तालाई रोक्न तीन वर्षमा ठुला टेन्डर पाएको हुनुपर्ने अनौठो सर्त

सम्बन्धित समाचार

पुष २२, २०८१ सोमबार २३:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।