सवारी साधनको भाडा दर बढ्यो

सवारी साधनको भाडा दर बढ्यो

काठमाडौं : यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा दर समायोजन गरेको छ।

यात्रुवाहक सवारीमा तीन दशमलव ३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ८१ र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ०५ प्रतिशत भाडा वृद्धि गरिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विगतदेखि सार्वजनिक सवारी साधनको भाडा दर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानिँदै आएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको यही पुस ११ को सहमतिमा भाडा वृद्धि गरिएको विभागले जनाएको छ। 

निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको सहमतिमा २०७८ असार २९ मा भाडा दर समायोजन गरिएको थियो। त्यसपछि इन्धनमा पाँच प्रतिशत मूल्य घटी वा बढी हुँदा भाडा दर समायोजन हुँदै आएको छ। अन्तिम पटक २०८० भदौ ३१ मा भाडा दर समायोजन गरिएको विभागले जनाएको छ।

एउटै प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनमा भने भाडा वृद्धि भएको छैन। विभागका महानिर्देशक राजीव पोखरेलले प्रत्येक वर्षको चैत महिनामा भाडा समायोजन गर्ने व्यवस्था भए पनि दुई वर्षदेखि समायोजन नभएकाले यसपटक गरिएको बताए। 

पुष २२, २०८१ सोमबार २१:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।