उकेरा टप फाइभ : वर्षौंपछि फिल्ममा फर्किएका निर्देशकदेखि टोखाको चाकु ब्रान्डको फोटो कथासम्म
काठमाडौं : अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई)का अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ। वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ।
जय ट्रफी एलिट कपको पहिलो अर्धशतक सोमपाल कामीको ब्याटबाट आएको छ। नेपाल पुलिस क्लबविरुद्ध ब्याटिङ गरेका उनले ७३ बलमा सात चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। प्रतियोगितामा अहिलेसम्म कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेका छैनन्। यसैबीच जारी प्रतियोगितामा आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ भने आजै सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ।
माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा ८० जनाले बोल्दै समय सकिएको हो। जसमा १८० जनाले बोल्नका लागि नाम टिपाएका थिए। बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
यसैबीच एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बैठक हुने भएको छ। आइतबार सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ।
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ। समितिको बैठकमा समितिकै सदस्य थानी बोल्दैगर्दा सभापति खतिवडाले रोक्न खोजेपछि चर्काचर्की परेको हो। ‘सभापति कति बोल्नुहुन्छ? म बोल्दिनँ तपाईं बोल्नुस्,’ सभापतिले छोट्याउन आग्रह गरेपछि थानीले भने, ‘जहिल्यै कुरा काटेको छ। बोल्न त पाउनुपर्यो। सबै तपाईंले जान्नुभएको छ। तपाईं नै बोल्नुस्।’
बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ। उनको १५ वर्षे कार्यकालमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू भएको र व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको छ।
अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार
अभिनेता राजेश हमालले सात वर्ष भयो फिल्ममा काम नगरेको। तर, पनि उनको जीवनशैलीमा कुनै परिवर्तन आएको देखिँदैन। कपाल काट्ने शैलुनदेखि विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीसम्मको विज्ञापनमा उनको अनुहार देख्न पाइन्छ। यदाकदा म्युजिक भिडियो पनि खेल्दिहान्छन् उनी। एक समय एक्सन हिरोको रूपमा चर्चित रहेका अभिनेता निखिल उप्रेतीको पनि जीवनशैली उत्तिकै लक्जिरियस छ। तर, चार वर्षयता उनको कुनै पनि फिल्म प्रदर्शनमा आएको छैन। आजकल उनी मोटिभेसनल स्पिकरको रुपमा प्रवचन दिँदै हिँड्छन्।
पूरा समाचार: टुरिष्ट घुमाएर अनि सिरियल बनाएर फिल्ममा फर्किएका निर्देशक
चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडीको नेपाली आधिकारिक विक्रेता साइमेक्स इंकले आयात गरेको विद्युतीय कार बीवाइडी ई-सिक्स मोडलमा कर छली गरेको पुष्टि भएको छ। साइमेक्सले वायर हाउस (ल्हासा)को शुल्क गाडीमा नजोडी न्यून मूल्य घोषणा गरेर प्रतिकार २ लाख कर छली गरेको राजश्व न्यायाधिकरणले काठमाडौँले ठहर गरेको हो। न्यायाधिकरणको फैसलामा साइमेक्सले वायर हाउस को प्रतिकार २ लाख शुल्क नजोडी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुरसँगै भन्सार ऐन बमोजिम लाग्ने शत प्रतिशत जरिवाना गरेर रकम असुल्नुपर्ने ठहर गरेको छ।
पूरा समाचार: नेपालमा बीवाइडी कार ल्याउने साइमेक्सले कर छलेको पुष्टि, १० हजार डलरमा किनेर ५९ लाख नेरुमा बेच्दै
अहिले काठमाडौँको उत्तरी क्षेत्र टोखा पुग्ने हो भने सहजै मग्मगाई रहेको चाकुको बास्नाको अनुभव गर्न सक्छन्। उखुको राम्रो खेती हुने स्थानको रूपमा परिचित यो क्षेत्रको ब्रान्ड नै हो चाकु। टोखाको चाकुले बजारमा प्रभाव पार्न सुरु भएको समयक्रम हेर्ने हो भने अहिले चौथो पुस्ता हो। टोखाजस्तै विभिन्न उत्पादनमा ब्रान्ड बनाएका क्षेत्रमा अहिले ती ब्रान्डहरू लोप भइसक्दा पनि टोखाको चाकुको ब्रान्ड भने कायमै छ। प्रस्तुत छ, उकेराले आज प्रकाशित गरेको फोटो कथा।
पूरा समाचार: चौथो पुस्ताले धानिरहेको टोखाको चाकु ब्रान्ड (फोटो कथा)
नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई पुर्पक्षका लागि जेल पठाउन अदालतले आदेश दिएको छ। सोमबार जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले बताए। तर, अदालतले शिवाकोटीको स्वास्थ्य स्थितिलाई भने ख्याल राख्न भनेको जिल्ला प्रहरी कार्यालय, झापाकी निमित्त सूचना अधिकारी इन्स्पेक्टर मेहेगी ल्हामु तामाङले बताइन्।
पूरा समाचार: आफ्नै घरमा काम गर्ने नाबालिकामाथि बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी जेल चलान
अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा संकटकाल घोषणा गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले संकटकाल घोषणा गरेका छन्। हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। हजारौं उडानहरू रद्द गर्नुपरेको छ र विद्यालयहरू बन्द गरिएका छन्।
पूरा समाचार: हिउँले पुरियो अमेरिका, सात राज्यमा संकटकाल
पुष २२, २०८१ सोमबार २१:४७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।