भावुक बनाउने शब्दहरू खर्चिएर प्रकाश सपुतले थाले फेसबुकबाटै ‘बसन्त’को प्रचार

भावुक बनाउने शब्दहरू खर्चिएर प्रकाश सपुतले थाले फेसबुकबाटै ‘बसन्त’को प्रचार

काठमाडौं : गायक प्रकाश सपुतले अघिल्लो दशैंमा फिल्म ‘परदेशी २’बाट अभिनेताका रुपमा डेब्यु गरेका थिए। जुन फिल्मको कमाई सुखद् रह्यो। यतिबेला उनले आफ्नै कथा र निर्देशनमा फिल्म ‘बसन्त’निर्माण गरेका छन्। यो फिल्म निर्माण गर्दै गर्दा उनले दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनय गरे। जुन फिल्म कार्तिक १५ देखि अहिले पनि केही हलमा चलिरहेको छ। 

५० करोडको व्यापार गरिसक्दा पनि यसमा प्रकाशको भने चर्चा छैन। यसमा उनी प्रचारप्रसारमा समेत दौडिएनन्। त्यसैले होला, अहिले उनले कसैको आस गर्नुभन्दा फेसबुकमै स्टाटस लेखेर फिल्मको प्रचार थालेका छन्। ‘बसन्त’को आगामी चैत २२ लाई प्रदर्शन मिति तोक्दै उनले आफ्नो फेसबुक अकाउण्डमा भावुक स्टाटस लेखेका छन्। 

प्रकाशले आइतबार साँझ फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आफूबाट ‘बसन्त’ले धेरै कुरा खोसेको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘बसन्त निर्माणका क्रममा समयले मबाट धेरै कुरा खोसेको छ। संगितबाट कमाएका केहि साथीभाइ, शुभेच्छुक खोसेको छ। केहि माया लाग्दा र जरुरी सम्बन्धहरु खोसेको छ। मैले मन्दिर जत्तिकै मान्ने स्टेजहरु खोसेको छ। भगवान् जस्तै मान्ने दर्शकहरु खोसेको छ।’

उनी यतिमा मात्रै अडिएका छैनन्। उनले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’को प्रचारप्रसारमा नलागेको आरोप लागेको थियो। उनी यो फिल्ममा प्रचारप्रसारमा नहिड्नुको कारण आफूले निर्माण गरेको फिल्म ‘बसन्त’अगाडि प्रदर्शन गर्ने सहमती भएको र निर्माताले धोका दिएको भन्दै रुष्ट बनेका थिए। फिल्म हलमा चलन थालेपछि मात्रै उनी यसको प्रचारमा लागेका थिए। यसबाट उनको आलोचना समेत भएको थियो।  

यो सन्दर्भलाई समेत समेटेर उनले  केहि शुभेच्छुकहरुको नजरबाट आफ्नो इमान खोसेको भन्दै भावुक शब्द प्रयोग गरेका छन्। दर्शकसँग उनले भावुक स्टाटस लेख्दै दर्शकलाई रिझाउने प्रयास गरेका छन्।   

उनले थपेका छन्, ‘जिवनमा रंग भर्ने यात्राहरु खोसेको छ र सबै भन्दा महत्वपुर्ण योजना विपरित बिचमा एउटा फिल्मको प्रदर्शनमा मैले समय दिन नपाएपछि केहि शुभेच्छुकहरुको नजरबाट मेरो ईमान खोसेको छ। यसबाहेक भोक खोसेको छ। निद्रा खोसेको छ र म भित्रको एक शान्त मानिस खोसेको छ। तर एक बारको जुनिमा आफ्नै सपनाको यो हद छोएकोमा म दंग छु। उसै पनि मलाई विश्वास छ ‘बसन्त’मार्फत नै समयले खोसिएका सबै फेरि फिर्ता दिनेछ।’

उनी दर्शकलाई कसरी भावुक बनाउन सकिन्छ भन्ने शब्दहरु छान्नलाई माहिर देखिन्छन्। गीत र म्युजिक भिडियोमा लठ्ठै पारेका प्रकाशले आफूले निर्माण गरेको फिल्म बबाल लाग्यो भने ठिकै छ, हैन भने आफ्नो दायरा यति नै रैछ भन्ने खाल्का शब्दहरु प्रयोग गरेका छन्। 

‘यदि ‘बसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ। यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो,’ उनले लेखेका छन्, ‘मेरो सीमितता यहीसम्म हो। मैले यहाँभन्दा थप केही जान्दिनँ।’

उनको स्टाटसलाई फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कासहितले सेयर गरेकी छन्। 

फिल्ममा प्रकाश सपुतको (वसन्त विक)का अलावा स्वस्तिमा खड्काको पात्रको नाम ‘शान्ति शर्मा’, प्रभात पाल ठकुरीको ‘प्रेम आर क्षेत्री’, खड्गबहादुर पुन (खबपु)को ‘सत्यबहादुर मगर’ र शिवांसी श्रीको (सपना विक) नाम राखिएको छ। 

फिल्मको निर्माण कम्पनी गलबन्दी प्रोडक्सन हो।

यस फिल्ममा कथा र सङ्गीत समेत सपुतकै रहने छ भने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन्।  

पुष २२, २०८१ सोमबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।