आफ्नै घरमा काम गर्ने नाबालिकामाथि बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी जेल चलान

आफ्नै घरमा काम गर्ने नाबालिकामाथि बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी जेल चलान

काठमाडौं : नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई पुर्पक्षका लागि जेल पठाउन अदालतले आदेश दिएको छ। 

सोमबार जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले बताए।

तर, अदालतले शिवाकोटीको स्वास्थ्य स्थितिलाई भने ख्याल राख्न भनेको जिल्ला प्रहरी कार्यालय, झापाकी निमित्त सूचना अधिकारी इन्स्पेक्टर मेहेगी ल्हामु तामाङले बताइन्। पक्राउ परेदेखि उनी थुनाकै क्रममा उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पतालमा छन्।

मंसिर २४ मा पक्राउ परेका उनीमाथि आफ्नै घरमा काम गर्ने नाबालिकामाथि पटक-पटक बलात्कार गरेको आरोप छ। 

पीडित शिवाकोटीको बिर्तामोड ५ मा रहेको घरमा करिब ८ वर्ष अघिदेखि घरेलु कामदारका रुपमा काम गर्दै आएकी थिइन्। उनी अहिले १७ वर्षकी भएकी छिन्। उनी स्थानीय विद्यालयको कक्षा ११ मा पढ्छिन्। 

नाबालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ। 

बुबाको मृत्यु भएपछि ती बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन्। बालिकाको आमाले पनि दोस्रो विवाह गरेकी भारतको आसाममा गइसकेकी छिन्। 

शिवाकोटीका चिनजान पर्ने ती आफन्त घरमा बस्दै आएकी बालिकालाई आफ्नो घरको कामसँगै पढाउने भनी शिवाकोटीले लिएर गएका थिए। त्यसपछि पटक-पटक बलात्कार गरेको उनीमाथि आरोप छ। 

शिवाकोटीलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागसहित अदालतमा मुद्दा दायर भएको छ। उक्त मुद्दाको सुनुवाई अदालतको बन्द इजलासमा भएको थियो।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। शिवाकोटी एमालेको कोशी प्रदेश कमिटी सदस्य पनि हुन्।  

पुष २२, २०८१ सोमबार २०:५५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।