माओवादी केन्द्रीय समितिको बैठक : दोस्रो दिन १८० जनाले नाम टिपाए, ८० जनाले बोल्दै समय सकियो
काठमाडौं : माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा ८० जनाले बोल्दै समय सकिएको हो।
जसमा १८० जनाले बोल्नका लागि नाम टिपाएका थिए। बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
आज बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरू भएको थियो।
प्रचण्डको त्यस प्रस्तावमाथिको छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीलाई उत्पादनसँग जोड्नका लागि सम्पूर्ण नेता-कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार उनीहरूले प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड दिएका हुन्।
अधिकांश नेताहरूले कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैली पारदर्शी, उच्च नैतिक चरित्रवान्, जनताको मन जित्ने बोली र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए।
उनीहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, पार्टीभित्रको दण्डहीनतालाई प्रश्रय दिन नहुने, पार्टीका सबै संरचनालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखे।
आसन्न निर्वाचन केन्द्रित रहेर मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उपत्यका र काँठ क्षेत्रमा जनजागरण अभियान सञ्चालन गर्नुपर्ने र पार्टी नेतृत्वको सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा थालेका अभियानबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिइएको प्रवक्ता सापकोटाले बताए।
महाधिवेशन गर्नेमा सबै सहमत भएपनि कार्यतालिका तोक्ने विषयमा नेताहरूको धारणा बाझिएको छ। कतिपय नेताले विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिए।
केन्द्रीय सदस्यहरूले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेको र यसले पछिल्लो राजनीतिक अवस्थालाई सही ढङ्गबाट विश्लेषण गरेको टिप्पणी गरेका छन्।
पुष २२, २०८१ सोमबार १९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।