चौथो पुस्ताले धानिरहेको टोखाको चाकु ब्रान्ड (फोटो कथा)
काठमाडौँ : अहिले काठमाडौँको उत्तरी क्षेत्र टोखा पुग्ने हो भने सहजै मग्मगाई रहेको चाकुको बास्नाको अनुभव गर्न सक्छन्। उखुको राम्रो खेती हुने स्थानको रूपमा परिचित यो क्षेत्रको ब्रान्ड नै हो चाकु।
टोखाको चाकुले बजारमा प्रभाव पार्न सुरु भएको समयक्रम हेर्ने हो भने अहिले चौथो पुस्ता हो। टोखाजस्तै विभिन्न उत्पादनमा ब्रान्ड बनाएका क्षेत्रमा अहिले ती ब्रान्डहरू लोप भइसक्दा पनि टोखाको चाकुको ब्रान्ड भने कायमै छ।
टोखामा अहिले सादा चाकु, मसला चाकु, खुवा चाकु, तिलको लड्डु समेत बन्ने गर्छ। यसको प्रति २ सय ग्रामको होलसेल मूल्य ३० देखि एक सय रुपैयाँसम्म पर्छ। अहिले टोखाको चाकु स्थानीयस्तरमा मात्र हैन विदेशसम्म पुग्ने गर्छ।
अहिलेको टोखा क्षेत्र पहिले मनग्ने उखु उत्पादन हुने क्षेत्र हो। उखुको उत्पादनसँगै सक्खर उत्पादन सुरु भयो। त्यही सक्खर चाकुमा बदलियो। धेरै उखु खेती हुने भएकाले नेपाल भाषामा 'तुख्य:' को रूपमा परिचित भयो अहिलेको टोखा। नेपाल भाषामा तु भन्नाले उखु अनि ख्य: भन्नाले बारी हो। यही 'तुख्य:' अपभ्रंश हुँदै गएर टोखाको रूपमा परिचित भयो।
नाम अपभ्रंशहुँदै 'तुख्य:' बाट टोखामा बदलिए पनि चाकुको ब्रान्ड भने बदलिएन। मिठो चाकु बनाउने सिप पुस्तासँगै हस्तान्तरण हुँदै आयो। त्यसैले त चौथो पुस्तासम्म आइपुग्दा पनि चाकु हराएन।
केही परिवर्तनै नभएको हैन। उखु फल्ने बारीमा घर फल्न थाले। त्यसले उखु उत्पादनमा प्रभाव पर्यो। उखु उत्पादन हराएसँगै सक्खर बन्ने अवस्था भएन। अहिले चाकुका लागि चाहिने सक्खर भने कपिलवस्तुको कृष्णनगरबाट आउँछ।
काशीलाल चाकु प्रोडक्सनका प्रोप्राइटर बुद्ध श्रेष्ठका अनुसार टोखामा बन्ने चाकुको लागि आवश्यक ९० प्रतिशत सक्खर नेपालकै उत्पादन हो। टोखा नगरभित्र अहिले १४ वटा चाकु बनाउने उद्योग छ। ती सबै उद्योगहरू टोखा परम्परागत चाकु संरक्षण समाज अन्तर्गत छन्। यसको स्थापना भने २०७६ मा भएको हो।
चाकु उत्पादनमा जाडो महिनाको मंसिर र पुसको समय अलि बढी व्यस्त हुने समय हो। टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष समेत रहेका बुद्ध श्रेष्ठका अनुसार अहिले यहाँ एउटा उद्योगमा चाकु बनाउन दैनिक ६ सय देखि ७ सय केजीसम्म सक्खर खपत हुने गर्छ।
यस हिसाबले मंसिर र पुस महिनामा मात्र टोखामा ३० देखि ४० हजार किलोसम्म सक्खरबाट चाकु उत्पादन हुने गरेको देखिन्छ। चाकुको उत्पादन वर्षैभरि हुने भए पनि योमरी पूर्णिमा देखि माघे सङ्क्रान्ति सम्म बढी खपत हुन्छ।
यो समयमा सबै उद्योगहरूमा बिहान ७ बजेदेखि राती लगभग ९ बजेसम्म निरन्तर चाकु उत्पादनको काम हुन्छ। समाजका अनुसार प्रत्येक उद्ध्योगमा १० देखि १५ जनासम्मले प्रत्यक्ष रोजगारी पाएका छन्।
जानकारका अनुसार एक पटकमा एउटा भाँडोमा ५० किलोसम्म सक्खर पाक्छ। चाकु बनाउने परम्परागत प्रणालीको संरक्षणका लागि समाजै गठन भएको छ। तर बढ्दो माग धान्न केही उद्योगहरूले मेसिनको समेत प्रयोग गरिरहेका छन्।
तामाको भाडामा पकाएको सक्खरलाई माटोको भाडामा खन्याएर सेलाउने र हातले तयार पारिने चाकुको स्वाद अलग हुने टोखा चाकु प्रोडक्सनका प्रोप्राइटर हंसराज श्रेष्ठले उकेरालाई जानकारी दिए। चाकुको परम्परागत स्वाद कायम राख्न ५० वर्ष भन्दा पुरानो उद्योगमा अहिले पनि चाकु यसरी नै परम्परागत रूपमै बनाउने गरेको उनले बताए।
पुष २२, २०८१ सोमबार १९:००:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।