सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७औं वार्षिक साधारण सभामा बोल्दै उनले अब सहकारी चाहिँदैन भन्नेहरूलाई चुनौती दिनको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउने गरी काम गर्नुपर्ने बताए।
उनले भने, ‘अहिले सहकारीहरू एउटैखाले हुन्, सहकारी ठिक छैनन्, अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ। वास्तवमा सहकारी ठिक छन्, जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो। किनभने सहकारीमा बचत जम्मा गर्छौं, त्यही परिचालन गर्छौं। त्यसकारण हामी सहकारीमा फिँजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ।’
उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए। सबैले सरकारको मुख ताक्ने मात्र नभई आ-आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्थाहरू अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ। त्यो हुन सकेको छैन। त्यसैले सरकारको मुख ताक्ने मात्र होइन, हामीले पनि पहल गर्नुपर्छ।’
उनले ऐन कानुनहरू पुरानै हुँदा पुराना कानुनहरूले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे।
पुष २२, २०८१ सोमबार १६:४१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।