माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंले तोडे धर्ना

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंले तोडे धर्ना

काठमाडौं : नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले आफ्नो धर्ना तोडेका छन्।

नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईसँगको भेटपछि धर्ना तोडेका हुन्।

शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई माइतीघर मण्डला गएकी थिइन्। चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन्।

उनले भनिन्, ‘तपाईंले गरेका धेरै मागहरु सम्बोधन गर्न सकिने छन्। सरकारले पूरा गर्ने छ। मैले यो सब बोल्नको लागि मात्र बोलेको होइन। केही कुराहरू कार्यदल बनाएर सुरू भइसकेका छन्। कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरूलाई लगेर जान्छु।’

आफूले गरेका कुराहरू भए कि भएन भनेर भोलि जवाफदेहिता खोज्ने अधिकार आफैंसँग रहने भन्दै उनले थपिन्, ‘मन्त्री हुँदा कार्यान्वयन गर्छु, भएन भने पनि संसदमा रहन्छु र सरकारलाई काम गर्नको लागि अगाडि बढाउँछु।’

सातै प्रदेशमा दुई/दुई घण्टा उभिएर काठमाडौं आएका चापागाईं उभिन थालेको सोमबार आठौं दिन हो। खुट्टा सुन्निएपछि उनी बैसाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए।

विद्यार्थीको छात्रवृत्ति पाँच हजार बनाउनुपर्ने, विद्यालयमा सय युनिट बिजुली र पानी निःशुल्क गर्नुपर्ने उनको माग थियो। यसैगरी उनले विद्यार्थी, शिक्षक र कर्मचारीसँग सम्बन्धित सार्वजनिक शिक्षा सुधारका १५ सुत्रीय माग राखेका थिए। 

पुष २२, २०८१ सोमबार १६:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।