नेपालको भूमिमा भारतीयले खेतिपाती गरिरहेको सुनाउँदै गृहमन्त्रीले भने 'त्यहाँ एउटा पिलर राख्नुपर्छ'
काठमाडौं : सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीय पक्षले उपभोग गरेको विषयमा एमालेका सांसद रघुजी पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
समितिमा परेका उजुरीमाथिको छलफलको सुरूमै पन्तले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए।
उनले भने, ‘कञ्चनपुरको शुक्लाफाँटा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मामा ल्याउन पहल भइरहेको छ कि छैन? यसमा गृहमन्त्रीको ध्यानाकर्षण होस्, हाम्रो भूमि हाम्रो स्वामित्वमा आओस्। हाम्रो भूमिको रक्षा सरकारले गरोस्।’
पन्तलाई जवाफ दिँदै गृहमन्त्री लेखकले त्यसबारे सरकारको ध्यानाकर्षण भएको बताए। उनले नेपालको भूमिमा भारतीयले खेतिपाती गरेको जानकारीमा आएको भन्दै त्यहाँ एउटा पिलर राख्नुपर्ने आवश्यकता रहेको बताए।
मन्त्री लेखकले भने, ‘हाम्रो जमिन भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकार जानकार छ। हामी यो विषयमा गम्भीर छौं। छलफल गरेका छौं। दुवै देशको सहमति चाहिने भएकाले कूटनीतिक छलफल गरिरहेका छौं। यस्ता पिलर राख्न संयन्त्र पनि छ, त्यसले पनि काम गरिरहेको छ।’
उनले नेपालको भूमि र सीमा रक्षा गर्न सरकार कटिबद्ध रहेको भन्दै भारतीय नागरिकले जमिन भोगचलन गर्न विषय समाधान गर्न सरकार कूटनीतिक पहल गर्ने बताए।
यसैगरी समितिमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरीमा छलफल भएको छ।
पुष २२, २०८१ सोमबार १६:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।