जब सांसद थानी ‘सबै तपाईंले जान्नुभएको छ, तपाईं नै बोल्नुस्’ भन्दै रामहरि खतिवडामाथि खनिए
काठमाडौं : सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ।
समितिको बैठकमा समितिकै सदस्य थानी बोल्दैगर्दा सभापति खतिवडाले रोक्न खोजेपछि चर्काचर्की परेको हो।
‘सभापति कति बोल्नुहुन्छ? म बोल्दिनँ तपाईं बोल्नुस्,’ सभापतिले छोट्याउन आग्रह गरेपछि थानीले भने, ‘जहिल्यै कुरा काटेको छ। बोल्न त पाउनुपर्यो। सबै तपाईंले जान्नुभएको छ। तपाईं नै बोल्नुस्।’
अख्तियार विधेयक उपसमितिबाट काम सम्पन्न भएर पनि अघि नबढाएको विषयमा थानीले प्रश्न उठाउँदै गर्दा सभापति खतिवडाले बीचैमा हस्तक्षेप गरी विधेयक अघि बढ्ने जवाफ दिएका थिए।
त्यसपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएर काम गरिसकेका थानीले सभापतिको शैलीमाथि प्रश्न उठाउँदै आफू नबोल्ने भनेर सभापतिलाई नै बोल्न आग्रह गरेका थिए।
यसैगरी समितिमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरीमा छलफल भएको छ।
पुष २२, २०८१ सोमबार १५:५४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।