कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको छ : स्वास्थ्यमन्त्री पौडेल

कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकीय पक्ष कमजोर रहेको बताएका छन्।

सोमबार कान्ति बाल अस्पताल ६३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताए।

उनले भने, ‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ, यो सत्य हो। यहाँ जति पनि टीकाटिप्पणी बाहिर भइरहेको हुन्छन्, त्यो सबै सत्य होइन। यसमा व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि छ। यसमा आवश्यक पर्ने जनशक्ति उपलब्ध छैन। उपकरण उपलब्ध छैन। भौतिक पूर्वाधार व्यवस्थित छैन।’ 

उनले त्यहाँ काम गर्नेहरूले अन्त जति सेवा सुविधा नपाएको पनि सुनाए। 

मन्त्री पौडेलले भौतिक पूर्वाधार उपलब्ध गराउन मन्त्रालय तयार भए पनि राज्यसँग क्षमता नभएको बताए। 

उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको उनले बताए। 

यसअघि कान्ति बाल अस्पतालले रि-एजेन्ट खरिदका लागि गरेको टेन्डर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ‘कान्ति बाल अस्पतालको रि-एजेन्ट खरिदमा भइरहेको सेटिङ र यसको कमिसनको खेल’ बारे उकेराले समाचार प्रकाशित गरेको थियो।

पुष २२, २०८१ सोमबार १५:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।