मोडिफाई गरेर चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

मोडिफाई गरेर चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

काठमाडौं : चितवनका विभिन्न स्थानमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरू गरेको हो। 

कार्यालयका प्रमुख एसपी गायत्रीराज शर्माका अनुसार विभिन्न समयमा स्वरूप परिवर्तन गर्ने (मोडिफाई) मोटरसाइकललाई कारबाही गरिँदै गरिएकोमा ध्वनि प्रदूषण नघटेको पाइएको हुँदा स्वरूप परिवर्तनअन्तर्गत साइलेन्सर, ह्यान्डल, सिटलगायतका सामान कम्पनीको वा सवारी दर्ता किताबभन्दा फरक राखी चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो। 

यस्ता मोटरसाइकल आइतबार मात्रै ३० वटा नियन्त्रणमा लिइएको छ। 

सामान्यतया ६० डेसिबलसम्मको आवाजलाई सामान्य मान्ने भए पनि यस्ता मोटरसाइकलले १२० देखि १९० डेसिबलसम्म आवाज निकाल्ने गरेको पाइएको छ। यसले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने रक्तचाप बढ्ने, थकान महसुस हुने, तत्कालै रिसाउने, झर्किने, कान कम सुन्नेजस्ता समस्या आउन सक्ने कुराहरुलाई मध्यनजर गर्दै ती मोटरसाइकल नियन्त्रणमा लिइएको शर्माले बताए।

यस्तो कार्यमा संलग्नलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बमोजिमको कसुरमा दफा १६० बमोजिम एक हजारदेखि पाँच हजारसम्म जरिवाना र बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ४३ बमोजिमको कसुरमा दफा १९४ बमोजिम सात हजारदेखि १५ हजारसम्म जरिवाना हुने शर्माले बताए। 

यस्ता मोटरसाइकललाई पूर्ववत् अवस्थामा फर्काएर जरिवाना तिराएर मात्रै छोडिने छ।  

पुष २२, २०८१ सोमबार १४:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।