लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच लगानी सम्झौता
काठमाडौं : लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच लगानी गर्ने विषयमा सम्झौता भएको छ।
सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेघावाट क्षमताको अप्पर मर्स्याङ्दी-१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
सो आयोजनाको कूल लागत २१.४० अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।
अपर मर्स्याङ्दी हाइड्रोपावर-१ ले पौष १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै पौष ०९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्वकको रुपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन्।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक/संस्थापकहरूको लगानी रहने छ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेकोछ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भइ विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र उर्जा उत्पादक मध्ये एकको रूपमा रहने विश्वास लिइएको छ।
पुष २२, २०८१ सोमबार १३:४८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।