महालक्ष्मी खोला-मातातीर्थ सडक आजदेखि माघ ७ सम्म बन्द
मकवानपुर : मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक सोमबारदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ।
सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।
पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए। उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने छ।
यस्तै, मकवानपुर-काठमाडौं जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी सिस्नेरीतर्फबाट र काटमाडौंबाट हेटौँडा आउने सवारीसाधान फाखेलबाट सञ्चालन भइरहेको छ। दुवै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ।
पुष २२, २०८१ सोमबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।