टुरिष्ट घुमाएर अनि सिरियल बनाएर फिल्ममा फर्किएका निर्देशक
अभिनेता राजेश हमालले सात वर्ष भयो फिल्ममा काम नगरेको। तर, पनि उनको जीवनशैलीमा कुनै परिवर्तन आएको देखिँदैन। कपाल काट्ने शैलुनदेखि विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीसम्मको विज्ञापनमा उनको अनुहार देख्न पाइन्छ। यदाकदा म्युजिक भिडियो पनि खेल्दिहान्छन् उनी।
एक समय एक्सन हिरोको रूपमा चर्चित रहेका अभिनेता निखिल उप्रेतीको पनि जीवनशैली उत्तिकै लक्जिरियस छ। तर, चार वर्षयता उनको कुनै पनि फिल्म प्रदर्शनमा आएको छैन। आजकल उनी मोटिभेसनल स्पिकरको रुपमा प्रवचन दिँदै हिँड्छन्।
फिल्म ‘मारुनी’, ‘मंगलम्’, ‘दाल भात तरकारी’, ‘दर्पण छायाँ २’ लगायतका फिल्ममा काम गरेर समीक्षात्मक रुपमा समेत चर्चा कमाएका पुष्प खड्काको हातमा अहिले फिल्म छैनन्। म्युजिक भिडियोमार्फत आम्दानी गरिरहेका छन् उनी।
फिल्मका प्राविधिकहरूको कुरा गर्ने हो भने उनीहरूलाई पनि कामको भ्याइनभ्याइ छ आजकल। कोरोनाका कारण भएको लकडाउनको समयमा समस्या भए पनि दैनिक ज्यालादारीमा काम गर्ने भएकाले अहिले उनीहरू एउटा फिल्मको काम सक्नेबित्तिकै अर्को फिल्ममा पुगिहाल्छन्।
फिल्म क्षेत्रमा नाम कमाइसकेका कलाकारहरू ठूलो पर्दामा नदेखिए पनि उनीहरूलाई आजकल कामको दुःख देखिँदैन। विभिन्न ब्राण्डको ब्राण्ड एम्बासडर र म्युजिक भिडियोका कारण उनीहरू व्यस्त देखिन्छन्।
तर, तिनै कलाकार तथा प्राविधिकहरूलाई निर्देशन दिने केही निर्देशकहरूले केही समयका लागि पेशाबाटै विस्थापित हुनुपर्नेसम्मको अवस्था आयो। केही समयअघि नाम चलेकै निर्देशकहरू आजकल फिल्मी दुनियाँमा देखिँदैनन्।
नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन भएसँगै पुराना पुस्ता फिल्ममा होमिने आँटै देखाइरहेका छैनन्। यसको ज्वलन्त उदाहरण हुन्- नरेश पौड्याल। १४ वर्षसम्म उनी फिल्म क्षेत्रमा आउन सकेनन्। अहिले भने पुनः उनी फिल्म ‘सिलसिला’बाट कमब्याक गर्ने कोसिसमा छन्।
आखिर यो १४ वर्ष कहाँ हराए त नरेश? सिनेमा बनाएर दालभात खान नपुगेपछि आफ्नो पुरानै पर्यटन व्यवसाय थालेको उनी बताउँछन्। नयाँ पुस्ता आएपछि साइड लागेको पनि भन्न रुचाउँछन् उनी।
‘सिनेमा मेरो प्यासन हो। पर्यटनसँग पनि नजिक छु। विदेशीहरूलाई गाइड गरिरहेको हुन्छु। फिल्म आउनुभन्दा अघिदेखि नै पर्यटन व्यवसायमा थिएँ म। सिनेमामा काम गरेर दालभात खानै नपुग्ने भएपछि पुरानै काममा फर्किएको थिएँ।’
‘हिरो’, ‘धड्कन’, ‘अभिमन्यू’, ‘दीपशिखा’ जस्ता नौ वटाभन्दा बढी हिट सिनेमा हुँदा पनि त्यसबाट बचत नभएर पेशा नै परिवर्तन गर्नुपरेको उनको गुनासो छ।
‘नयाँ पुस्ताको आगमनसँगै राजेश हमालले अभिनय गर्न जान्दैन, नरेश पौड्यालले निर्देशन गरेको भएन भनियो,’ उनले हाँस्दै भने, ‘मैले जस्तो शैलीको सिनेमा बनाउँथे, त्यस्तो शैलीको सिनेमा बनाउन सकिनँ किनकी ती चल्दैनथे।’
१४ वर्षपछि उनी अहिले फिल्म ‘सिलसिला’बाट निर्देशकको रुपमा कमब्याक गर्दैछन्। त्यसका लागि गीत रेकर्डको काम भइरहेको छ। फिल्ममा नाम चलेका कलाकारहरूले अभिनय गर्नेछन् भने यही नामको अघिल्लो फिल्ममा काम गरेका कलाकारलाई पनि अतिथि भूमिकामा समावेश गराउने उनको तयारी छ।
तर, तीस वर्षदेखि फिल्म क्षेत्रमा नै लागिरहेका निर्देशक नवल नेपाल भने कलाकारिता र निर्देशनलाई नै निरन्तरता दिइरहेका छन्। आफ्नै निर्देशनमा फिल्म नआए पनि अरुको फिल्मको स्क्रिप्ट हेर्ने र लेख्ने काम गरिरहेकाले जीविका चलाउनै धौ हुने अवस्था नआएको बताउँछन्।
‘केही फिल्मका स्क्रिप्ट हेरिदिन्छु, स्क्रिप्ट लेख्छु पनि अनि लेख्न सिकाउँछु पनि,’ उनले भने, ‘त्यहाँबाट राम्रै आम्दानी हुन्छ, यसरी नै चलिरहेको छु। हतारमा फिल्म नगर्ने पक्षमा छु म। गरेपछि राम्रै गर्नुपर्छ भन्ने लाग्छ।’
तीन वर्षअघि उनी निर्देशित फिल्म ‘मारुनी’ प्रदर्शनमा आएपछि उनले कुनै पनि फिल्ममा काम गरेको खबर बाहिरिएको छैन। यद्यपि उनी केही वेब सिरिज भने निर्माण गरेका थिए।
अर्का पुराना फिल्म निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’पछि फिल्म निर्माणको तयारी थाल्नै सात वर्ष कुर्नुपर्यो। अहिले उनी ‘पहाड’नामक फिल्म निर्देशनमा तयारीमा छन्। पुरानो शैलीको फिल्म निर्माणलाई छाडेर नयाँ प्राविधिक कुरा पछ्याउँदा केही समय लागेको बताउँछन् उनी।
सात वर्षको यो खाली समयमा फिल्मका प्रविधि र त्यसको प्रयोगबारे सिकेका रहेछन् उनले। त्यसका अलावा केही स्क्रिप्ट र मेन्टरको काम पनि सँगसँगै अघि बढाएका रहेछन्।
त्यसैगरी ‘किस्मत २’ प्रदर्शनको आठ वर्षसम्म पनि निर्देशक ऋषि लामिछाने पनि ठूलो पर्दामा देखिएनन्। पछिल्लो आठ वर्षमा फिल्ममा नदेखिए पनि सिरियल र अन्य सिर्जनामार्फत दर्शकमाझ जोडिरहेकै देखिए उनी।
‘निर्देशकको काम दर्शकमाझ आफ्नो सिर्जनाहरू अभिव्यक्त गर्ने हो। त्यो मैले ठूलो पर्दाको फिल्ममा नगर्दा पनि सानो पर्दाबाट अभिव्यक्त गरिरहेको थिए। मैले २५ वर्षको अन्तरालमा एक वर्षजति खाली बसे होला। दर्शकमाझ सानो ठुलो पर्दामार्फत आफ्नो सिर्जनाहरू दिइरहेको छु’, उनी भन्छन्।
आठ वर्षपछि उनी अहिले फिल्म ‘माग्नेराजा’ मार्फत ठूलो पर्दामा कमब्याक गर्न लागेका हुन्। यो आठ वर्षको अवधिमा उनले ठ्याक्कै के गरे त?’
उनले थपे, ‘किस्मत २ पछि सानो पर्दाको रेगुलर काम गरिरहेको छु। २५ वर्षको अन्तरालमा सिरियल र अन्य सिर्जनामार्फत निर्देशकीय क्षमता पोखिरहेको छु। बोलिरहेको छु। पछिल्ला आठ वर्ष दुईवटा सिरियल ‘परिचय २’ र ‘दृष्टि’लाई समय दिएँ।’
कलाकारको तुलनामा निर्देशक फुर्सदिला देखिए पनि अवस्था भने ठ्याक्कै उल्टो रहेको लामिछानेको भनाइ छ।
उनले थपे, ‘कलाकारको काम सुटिङ गरेपछि सकियो। त्यसपछि प्रोडक्सनको र रिलिज नहुन्जेलसम्म निर्देशक काममा बसिरहेको हुन्छौँ।’
पुष २२, २०८१ सोमबार १२:०४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।