रविले रेमिटेन्सबाट अमेरिका पठाए ७५ लाख, गोर्खाको चार वर्षको कारोबार ६१ करोड

रविले रेमिटेन्सबाट अमेरिका पठाए ७५ लाख, गोर्खाको चार वर्षको कारोबार ६१ करोड

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न मितिमा रेमिटेन्स कम्पनीहरूबाट विदेशमा ७५ लाख रुपैंया पठाएको खुलेको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको करिब डेढ अर्ब रकम ठगीको अभियोगमा आइतबार जिल्ला अदालत काठमाडौँमा दायर भएको अभियोग पत्रमा रेमिटेन्स पठाएको मिति र रकम उल्लेख छ। तर देश उल्लेख छैन।

अनुसन्धान स्रोतका अनुसार ती रकमहरू रेमिटेन्सबाट अमेरिकामा भुक्तानी भएको खुलेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौँको अभियोग पत्रमा ती विवरण भए पनि यो जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धानकोक्रममा खुलेको र उनले सम्पत्ति शुद्धीकरण गराएको प्रमुख आधार सो रकमको विवरण समेत रहेको अनुसन्धानस्रोतले उकेरालाई जानकारी दियो।

मिसिलमा समावेश विवरणमा रविको नामबाट रेमिटेन्सबाट विदेशमा एकै पटकमा २२ लाख रुपैयाँसम्म गएको देखिन्छ। २०२१ सेप्टेम्बर ११ मा १७ लाख ८२ हजार, त्यही मितिमा तीन हजार पाँच सय ६४, सन् २०२२ मार्च १३ मा २२ लाख ११ हजार, २०२२ मार्च २७ मा २१ लाख ९५ हजार रेमिटेन्सबाट विदेशमा रकम गएको देखिन्छ। यसैगरि  २०२२ सेप्टेम्बरमा पुन १३ लाखसहित गरेर ७५ लाख रेमिटेन्सबाट विदेशमा रकम गएको विवरणमा देखिन्छ।

रविलाई बयानमा समेत सो रकमको प्रयोजनबारे सोधिएको थियो। उनले बयानमा ‘ग्यालेक्सी फोरके प्रसारणका लागि एलएओ एसिया प्यासिफिक स्याटलाइट कम्पनी लिमिटेडसँग सम्झौता भएको र सो भुक्तानी प्रक्रिया पुरा गरी तिर्नुपर्ने दायित्व पुरा गरेको हुनुपर्छ’ भनेका छन्। अभियोग पत्रमा समावेश रविको बयानमा रेमिटेन्सबाट विदेशमा ७५ लाख भुक्तानी भएकोबारे ‘मलाई अहिले सम्झना छैन’ भन्ने उत्तर दिएको उल्लेख छ।

श्रीमतीको एफएम गोर्खालाई विक्री

यस अगाडि उनको श्रीमती निकिता पौडेलको नेतृत्व रहेको गोपीकृष्ण मुभिजको नाममा गोर्खा मिडियाबाट पटक-पटक रकम भुक्तानी भएको खुलेको थियो। निकिताको नाममा गोर्खा मिडियाबाट ३५ लाख र गोपीकृष्ण मुभिजको नाममा ९५ लाख गएको खुलेको थियो।

स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको बयानमा समेत उनीसँग यसबारे प्रश्न सोधिएको देखिन्छ। बयानमा उनले ग्यालेक्सी टेलिभिजन प्रसारणको समयमा आवश्यक उपकरण र जनशक्ति नभएकाले गोपीकृष्ण मुभिजबाट ल्याएर काम गरेकाले त्यही अनुसारको शुल्क हुनसक्ने दाबी गरेका छन्।

९५ लाखको हकमा भने गोपीकृष्ण मुभिजको नाममा रहेको रेडियो फिल्मीको लाइसेन्स गोर्खा मिडियालाई विक्री गरेर नाम बदलेर रेडियो ग्यालेक्सी बनाएको र सो रकम त्यहीँ रेडियोको अधिकार विक्री गरे बापत हुनसक्ने दाबी गरेका छन्।

उनले बयानमा तत्कालीन समयमा रेडियोको नयाँ फ्रिक्वेन्सीको अनुमति बन्द रहेको अवस्थामा रेडियो फिल्मीको क्षमता अनुसार विक्री भएको रकम थोरै नै भएको दाबी समेत गरेका छन्।

सहकारीबाट ऋण पनि बचत खाता पनि

रविले बयानमा सहकारीबाट ऋण लिन, रकम दिन, खाता खोल्ने लगायतका कुनै पनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन्। तर अभियोग पत्रमा भने उनको नाममा भएको कारोबारका विवरणहरू टन्नै समेटिएको छ।

अभियोग पत्रमा राखिएको विवरणमा ग्लोबल आइएमइ बैकमा रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट स्वर्णलक्ष्मी सहकारीलाई विभिन्न मितिमा १६ वटा चेकबाट ९० लाख १६ हजार भुक्तानी गरेको देखिन्छ। यी सबै चेकमा रविको हस्ताक्षर छ।

स्वर्णलक्ष्मी सहकारीबाट ग्लोबल आइएम बैङ्कको खातामा दुई करोड ४० लाख रकम जम्मा भएको देखिन्छ। यति मात्रै हैन, दुई वर्षको बिचमा रविको हस्ताक्षर रहेको चेकबाट ग्लोबल आइएमइ बैङ्कको खाताबाट ४९ करोड आठ लाख कारोबार भएको थियो। यो कारोबारमा कम्पनीको ८ सय २० थान चेकको प्रयोग भएको थियो।

अभियोग पत्रमा समावेश गोर्खा मिडियाको आर्थिक कारोबार विवरण अनुसार चार वर्षको बिचमा ग्यालेक्सी टेलिभिजनको नाममा ६१ करोड खर्च भएको देखिन्छ। यसका लागि ग्लोबल आइएमइ र सिद्धार्थ बैङ्कमा रहेको गोर्खा मिडियाको खाताको विवरणलाई आधार बनाइएको देखियो। चार वर्षको बिचमा एक हजार ३७ वटा चेकबाट यो कारोबार भएको देखिन्छ। स्वर्णलक्ष्मीसँग आफ्नो कुनै कारोबारै नभएको रविले दाबी गरे पनि सहकारीमा जीवी र रविको नाममा बचत खाता रहेको र त्यसमा दुई लाख चार हजार रकम मौज्दात समेत रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

सहकारीको पैसाबाट अटो लोन

अर्को विवरणमा स्वर्णलक्ष्मीको खाताबाट जीवी र रविको नाममा १४ प्रतिशत ब्याजदरमा ८८ लाख ६९ हजार ऋण निकालेको देखिन्छ। यो सहकारीको जिसिएस बैंकिङ सफ्टवेयरमा फेला परेको विवरण हो। यसको शीर्षक अटो लोन राखिएको छ।

जीवी र रविको हस्ताक्षरमा सुर्यदर्शन सहकारीको प्राइम बैङ्कमा रहेको खातामा एक लाख १० हजार रुपैयाँ जम्मा भएको, नारायणी अटो बिजनेसको खातामा सहकारीको ३२ लाख ८८ हजार ६ सय जम्मा भएको र स्वर्णलक्ष्मी चार पाङग्रे कर्जाको नाममा जीवी र रविको नाममा ४६ लाख ९८ हजार ऋण लिएको विवरण समेत फेला परेको देखिन्छ।

सहकारीको कुमारी बैङ्कमा रहेको खातामा गोर्खा मिडियाका सञ्चालक रविको हस्ताक्षर गरिएको चेकबाट ९ लाख ८८ हजार ५ सय ८० जम्मा गरेको विवरण समेत देखियो। रवि र जीवीको नाममा विभिन्न मितिमा पेस्की र ऋण शीर्षकमा ८२ लाख ९७ हजार दुवैले हस्ताक्षर रहेको चेकबाट सहकारीको कर्जा मिलान गरेको विवरण उल्लेख छ।

यी नै प्रमाण र विवरहरूको आधारमा अभियोग पत्रमा सहकारीको रकम अपचलन गरी बेइमानी पूर्वक आफू आबद्ध रहेको कम्पनीहरूमा रकम रकमान्तर गरी गराई सो रकम आफ्नो व्यक्तिगत काममा आफ्नो अनुकूल खर्च गरेर जीवी र रविले सहकारी ठगी गरेको दाबी गरिएको छ।

रविले आफू सञ्चालक रहेको कम्पनीमा आफू समेत कार्यरत रहँदा सहकारी संस्थाहरूबाट गैरकानुनी रूपमा रकम ल्याई उक्त रकमहरू परिचालन गरी आफ्नो र आफू आबद्ध रहेको सङ्गठित समूहको लाभको लागि मात्र कार्य गरी सहकारी संस्थाको बचतकर्ताहरूलाई ठगी गरेको देखिएको दाबी गरिएको छ।

‘रवि गोरखा मिडिया नेटवर्कको शेयरधनी एवम् सञ्चालक, प्रबन्ध निर्देशक र बैङ्क खाताको हस्ताक्षरकर्ता रहेको अवधिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट गैह्र कानुनी पूर्वक विभिन्न माध्यमबाट भित्र्याइएको रकमहरू र गितेन्द्र बाबु/रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता/फायलहरूबाट रविले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड आठ लाख ६९ हजार अपचलन गरी ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आयो’ अभियोग पत्रमा भनिएको छ।

पुष २१, २०८१ आइतबार २१:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।