स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १९ करोड ठगी भएको दाबीमा प्रमाण नष्ट गरेकोसहित सरकारी वकिलले लिएको १२ आधार
काठमाडौँ : जिल्ला अदालत कास्कीमा सुर्यदर्शन सहकारीको बचत रकम ठगी, सङ्गठित अपराध अनि सम्पत्ति शुद्धीकरणको अभियोगमा थुनछेकको बहस जारी रहेकै समयमा काठमाडौँमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगीको अभियोगमा मुद्दा दर्ता भयो।
जिल्ला अदालत काठमाडौँमा दर्ता भएको २ सय १३ पृष्ठको अभियोग पत्रमा ठगीको मास्टरमाइन्ड जीवी भएको र रविसहितका अन्य ३८ जनाले ठगीमा सहयोग गरेको दाबी गरिएको छ। सहकारीको एक अर्ब १९ करोड बचत ठगी भएको दाबी गरिएको अभियोग पत्रमा रवि लामिछाने विरुद्ध पाँच करोड आठ लाख बिगो कायम गर्न माग गरिएको छ।
जीवीसहितको समूहले बदनियतपूर्वक गोर्खा मिडिया प्रालि लगायतका विभिन्न कम्पनीहरू खडा गरेर योजनाबद्ध रूपमा सहकारीको रकम अपचलन गरेको दाबी गरिएको अभियोग पत्रमा सहकारीको बचत ठगी भएको भन्दै १२ आधार प्रस्तुत गरिएको छ।
१-स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ली. कामद, मण्डला, प्रणोदय जस्ता अन्य सहकारी संस्थाहरूमा एकीकरण भई सञ्चालनमा आएदेखि सहकारीले ऐन नियम विपरित कर्जा प्रवाह गर्ने, नउठेको रकमलाई साँवा पुँजीमा राखी पुँजी वृद्धि भएको देखाउने जस्तो कार्य गरेको देखियो। सहकारी ऐन नियमावली, निर्देशन तथा संस्थाको स्वीकृत विनियम अनुसार कारोबार नगरी सञ्चालक तथा अन्य विभिन्न व्यक्तिका कर्जा मार्फत दुरुपयोग गरेको पाइन्छ।
२-यस सहकारी संस्थाको जिसिएस बैंकिङ सफ्टवेयरको अल डिपोजिट म्याटर लेखिएको एक्सल सिटमा कुल ५ हजार ६ सय ६९ बचतकर्ताहरूको खाताबाट सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रकम जम्मा भएको देखिन्छ ।
३-मिसिल संलग्न स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ली. को प्राप्त जिसिएस बैंकिङ सफ्टवेयरको अल लोन म्याटर लेखिएको एक्सल सिटमा कुल ७ सय २ वटा कर्जा खाताहरूमा ऋण रकम २ अर्ब ५२ करोड ३८ लाख ८६ हजार मौज्दात रहेको देखिन्छ। अधिकांश कर्जा लगानीका लागि गरिने न्यूनतम प्रक्रिया (कर्जा लिखत तमसुक समेत) अवलम्बन नगरेको देखियो।
४-कर्जा मार्फत सदस्यको बचत अपचलन गर्न विभिन्न कृत्रिम कर्जा खाताको प्रयोग गरेको पाइन्छ।
५-संस्थाको कम्प्युटर लेखा प्रणालीमा कृत्रिम बचत खाता प्रयोग गरी (जस्तै क्राइसिस मेनेजमेण्ट एकाउन्ट र भवन) वाट अपचलित कर्जालाई व्यवस्थापन गर्न खोजेको पाइन्छ।
६-कर्मचारी पेस्की नामक खाताबाट ठुलो रकमको कारोवार गरेको देखिन्छ र विभिन्न मितिमा पेस्की प्रदान गर्ने तथा उक्त पेस्की रकम विभिन्न कृत्रिम कर्जा खाताका माध्यमवाट पेस्की फर्छ्यौट गर्ने गरिएको पाइन्छ। उक्त पेस्की खाताको विवरण माथि कर्मचारी पेस्की लगायतका शीर्षकमा विस्तृत विवरणमा समावेश गरिएको छ।
७-सहकारी ऐन, नियमावली, नियमनकारी निकायबाट जारी निर्देशन र प्रचलित अन्य कानून विपरीत हुने गरी कर्जाको पाउन बाँकी व्याजलाई कृत्रिम आम्दानी देखाई सो व्याजलाई पुँजीकृत (नउठेको व्याजलाई सावामा जोड्ने) गर्ने कार्य गरेको देखिन्छ।
८-प्रचलित सहकारी ऐन नियम विरुद्ध संस्था समस्या ग्रस्त भए पश्चात शेयरलाई फिर्ता गरी कृत्रिम कर्जा खाताको मिलान गरेको पाइन्छ।
९-कानून विपरीत विभिन्न स्थानका सहकारी संस्था बिच अन्तर सहकारी कारोबार गरिएको पाइन्छ। यस्तो कारोबार गर्ने संस्थाको विवरण माथि पेस्की, आसामी र तिर्न बाँकी शीर्षकमा उल्लेख गरिएको छ।
१०-सहकारीका वर्तमान अध्यक्ष गितेन्द्रवावु राई, निवर्तमान व्यवस्थापक भूपेन्द्र राई, वर्तमान कोषाध्यक्ष कुमार रम्तेल, निवर्तमान अध्यक्ष दीपक लामा, वर्तमान उपाध्यक्ष देवेन्द्र बाबु राई लगायतका व्यक्तिहरूले गैर कानुनी व्यक्तिका नाममा पेस्की, कर्जा कारोबार र बचत कारोबार मार्फत अपचलन गरेको पाइन्छ। पेस्की कारोबार मार्फत विभिन्न व्यक्तिले गरेको कारोबार कर्मचारी पेस्की, पाउन बाँकी शीर्षकमा कारोबार गरेको पाइन्छ।
११-स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ली. र गोरखा मिडिया नेटवर्क प्रा.ली. को कार्यालय भवनमा खटी गई कसुर मुद्दामा प्रमाण लाग्ने दसीहरू खोजतलास गर्दा गोरखा मिडिया नेटवर्क प्रा.ली. को हिसाब किताब राख्ने लेखापाल द्वारा प्रयोग हुँदै आएको कम्प्युटर प्रमाण नष्ट गर्ने उद्देश्य स्वरूप जी.वि.ग्रुप अफ कम्पनीज् प्रा.ली.का रविना रिमाल सहितका महिलाहरू आई लिएर गएको कुरा गोरखा मिडिया नेटवर्क प्रा.ली. का सेक्युरिटी गार्डको कागजबाट खुल्न आएको हुँदा प्रतिवादीहरूको प्रमाण लुकाई नष्ट गर्ने कार्यमा समेत संलग्नता रहेको देखिन्छ।
१२-स्वर्णलक्ष्मी सहकारीका वर्तमान अध्यक्ष गितेन्द्र बाबु राईले निजको प्रत्यक्ष मातहतमा रही सहकारी सहित व्यक्तिगत कम्पनीहरू सञ्चालन गर्न निजलाई सहयोग गर्ने कुमार रम्तेल, देवेन्द्र बाबु राई, दीपक लामा, भूपेन्द्र राई, नवीन अछामी लगायतका व्यक्तिहरूले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था सहित अन्य सहकारीहरूमा पीडित बचतकर्ताहरूले निक्षेप गरेको रकम गैह्र कानुनी पूर्वक विना धितो व्यक्ति, कम्पनी तथा सहकारीहरूमा लगानी गरी उक्त लगानीलाई ऋण देखाई ऋणलाई व्याज सहित गणना गरी सहकारीको पुँजीमा जोडी आर्थिक लाभ लिई सहकारीको रकम सङ्गठित रूपमा अपचलन गरी ठगी गरेको पुष्टि हुन्छ।
पुष २१, २०८१ आइतबार १९:११:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।