पठाओ चालकको मनमा 'चोरीको पाप' पलाएपछि

पठाओ चालकको मनमा 'चोरीको पाप' पलाएपछि
सांकेतिक तस्बिर

काठमाडौँ : मंसिर २३ मा धादिङबाट बसमा काठमाडौँ आएकी सानीमैया पौडेल बाफलमा झरे लगत्तै म पठाओ चलाउनेवाला हो, कहाँ जाने हो, म लगी दिन्छु’ भने। उनी राजी भइन्। बा ९५ प ९०० नम्बरको मोटरसाइकल चढेर बानेश्वर हिँडेकी थिइन् उनी।

छाउनीमा पञ्चकन्या विद्यालय नजिकको एकान्त सडक आएपछि मोटरसाइकल रोकियो। मोटरसाइकल चालकले उनको साथमा रहेको सामसुङ कम्पनीको मोबाइल तथा आधा तोला सुनको औँठी जवर्जस्ती लिएर हिँडे।

उनले तत्काल घटनाबारे प्रहरीलाई जानकारी दिइन्। मोटरसाइकल नम्बरको आधारमा दोस्रोदिन ताहाचलबाट गणेश लामा पक्राउ परे। उनको डेरामा खानतलासीकोक्रममा प्रहरीले मोबाइल फेला पार्यो। तर सुनको औँठी फेला परेन। तर पछि सुनको औँठी उनकै झोलामा फेला पर्यो। तर उनले मोबाइल चोरी गरेकाले प्रहरी वृत्त कालीमाटीमा जाहेरी पर्यो।

काभ्रेका लामा काठमाडौँको कालीमाटीमा रहेको घरमा बस्दै आएका थिए।  उनी सो घर भाडामा लगाएर उनी चन्द्रागिरि मातातिर्थमा डेरामा बस्दै आएका थिए। उनी वैदेशिक रोजगारीमा कोरिया जाने तयारीमा थिए। कोरिया नगएसम्मका लागि उनले साथीसँग मोटरसाइकल सापटी लिएर पठाओको चालक बनेका थिए।

एक महिना अगाडिबाट उनी पठाओ राइडर बनेका थिए। उनको बयान अनुसार घटनाको दिन उनले सानीमैयालाई भेटेर बानेश्वरमा रहेकी छोरीलाई भेट्न जाने भनेपछि त्यता लैजानेक्रममा सुनसान सडक आयो। सानीमैयाले सुनको गहना लगाएको र मोबाइल समेत बोकेको देखेपछि मनमा चोरी गर्ने पाप जागेपछि छाउनीको गल्लीको बाटो सुनसान देखेपछि मोटरसाईलकबाट झारेर मोबाइल चोरी गरेको स्विकारेका छन्।

‘कानमा लगाएको सुनको गहना तान्न खोज्दा बुढी आमाले प्रतिकार गरिन्। म हच्किएँ। मेरो मोबाइल देऊ भनेर कराउन थालेपछि म भागेँ’ काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रको बयानमा उनले भनेका छन्।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा लामाविरुद्ध चोरीमा तीन वर्ष कैद सजायको मागसहित अभियोग पत्र दर्ता भइसकेको छ।

पुष २१, २०८१ आइतबार १८:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।