एक करोडको खर्चमा प्रथम निजगढ महोत्सव हुँदै, साढे २ लाख अवलोकनकर्ता सहभागी गराउने लक्ष्य

एक करोडको खर्चमा प्रथम निजगढ महोत्सव हुँदै, साढे २ लाख अवलोकनकर्ता सहभागी गराउने लक्ष्य

काठमाडौं : निजगढ नगर उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पटक निजगढ नगरपालिकामा कृषि/पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुने भएको छ।  

आगामी माघ ११ देखि माघ २२ सम्म निजगढ नगरपालिका-८ स्थित खयरघारी चौरमा प्रथम निजगढ महोत्सव आयोजना गरिने निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

शनिबार साँझ वाणिज्य संघको सभा हलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको बताए।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। महोत्सवलाई निजगढ नगरपालिकाको समेत सहयोग रहेको बताउँदै अध्यक्ष श्रेष्ठले निजगढ नगरपालिका यस महोत्सवको संरक्षकको रुपमा रहेको बताए। 

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रबर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको छ। 

महोत्सवले कृषिजन्य घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने  आयोजकको अपेक्षा छ। 

बालबालिका तथा युवाहरूको मुख्य आकर्षण रुपमा रहँदै आएको बालउद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन, संस्कृतिको जगेर्ना गर्ने, आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन गर्न सहयोग तथा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने महोत्सवमा ख्यातीप्राप्त कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवले स्थानीय उत्पादनका केरालगायत कृषि उत्पादनको प्रचारप्रसारमा गरि देशभर प्रख्यात बनाउन यस महोत्सवको महत्वपूर्ण भूमिका रहने अध्यक्ष श्रेष्ठले बताए। 

यस्तै, नगरभित्र रहेका सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्र र आदिवासी जनजाति कछाडिया समुदाय जस्ता ऐतिहासिक बस्तीहरूको सहभागिताले समेत महोत्सवलाई आकर्षण बनाउने बताइएको छ।

आयोजकले महोत्सवमा प्रत्येक दिन झाँकी लाखे नाच (नेवार), कौडा/कौह्रा (मगर), लाठी नाच (थारू) तथा अन्य नगरभित्र रहेका विभिन्न जातजातिका संस्कृतिहरूको प्रदर्शनी आदि गरिने जनाएको छ।

करिब १ करोड अनुमानित खर्च गरी स्थानीय र बाह्य गरी २ लाख ५० हजार अवलोकनकर्ता सहभागी गराउने आयोजकको लक्ष्य छ। 

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। आयोजककाअनुसार महोत्सवमा १ सय ५० वटा स्टल रहनेछ। 

पुष २१, २०८१ आइतबार ११:५६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।