एमालेबाट निकालिएपछि रावल बने खाँटी राजावादी, इटहरीमा भने 'बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आयो'

एमालेबाट निकालिएपछि रावल बने खाँटी राजावादी, इटहरीमा भने 'बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आयो'

काठमाडौं : साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निकालिएका नेता डा भीम रावलले बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको दाबी गरेका छन्। 

इटहरीमा राजावादी पक्षसँगको भेटघाटमा उनले २०६२/६३ मा गणतन्त्र, धर्ननिरपेक्षता अनि संघीयताको पनि एजेन्डा नभएको दाबी गरे। शनिबार उनले इटहरीका राजावादी नेता विष्णु रिजालको घरमा राजावादी पक्षधरसँग भेटघाट गरेका थिए। 

त्यसक्रममा उनले भने, 'हामीले चाहिँ संगठन गर्ने, बोल्ने अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरू गरियो। जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरूले ठ्याक्कै आएर छिरे। २०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरूलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन।'

२०४७ सालमा संवैधानिक राजतन्त्र भएको भन्दै एमालेले पनि मानेको उनको दाबी छ। 

'२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमाले पनि मानेको हो, त्यहीँ अन्तर्गत त म पहिलोचोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो, उनले भने। 

त्यसअघि शनिबारै रावललाई स्वागत गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका थिए। रावललाई विमानस्थलमा स्वागत गर्न सतिस पोख्रेलको समूह विराटनगर पुगेको थियो। उनी राजसंस्था फकाइनुपर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन्। 

पुष २१, २०८१ आइतबार १०:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।