कांग्रेसकै कार्यक्रममा सहभागी हुन गगन थापा पोखरा पुग्दा रास्वपा नेताको 'शंका'
पोखरा : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको थुनछेक बहस अन्तिम चरणमा पुगिरहँदा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आयोजित कांग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन पोखरामै छन्।
शनिबार बिहान हवाई उडानमार्फत पोखरा पुगेका गगन शनिबारै पार्टीको भ्रातृ संस्था नेपाल मुस्लिम संघको भेला अनि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम सहभागी भए।
त्यसक्रममा उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने अनि पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताए।
'बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ, पार्टी नै डुब्ने खतरा छ। कहाँबाट कसले डुबाउँछ पार्टी, त्यसै डुब्छ पार्टी, हामी छैनौं?, उनले भनेका थिए।
उनी आज पनि कांग्रेस कास्कीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए।
त्यसो त महामन्त्री गगन आगामी १५औं महाधिवेशनका लागि सभापतिको दाबेदार आकांक्षी हुन्। त्यसका लागि उनी अहिले देश दौडाहा गरिरहेका छन्।
अझ, १४औं महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका सभापतिका उम्मेदवार डा शेखर कोइराला पनि आगामी सभापतिको लागि देश दौडाहामै रहेको बेला गगन आफ्नो प्रयासलाई थप बलियो बनाउन लागिरहेका छन्। त्यसै दौरानमा उनी पोखरा पुगेको उनी निकट नेताहरू बताउँछन्।
तर, गगन आफ्नै पार्टीको कार्यक्रममा सहभागी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू भने सशंकित देखिए। गगन कास्की जिल्ला अदालतमा चलिरहेको सूर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाको बहसमा प्रभाव पार्न आएको केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सामाजिक सन्जालमै लेखिन्।
संग्रौलाले गगन बसेको पोखराको लेकसाइडस्थित बरपीपलहोटल वरपर आफ्नो पार्टीका कार्यकर्ताहरूले निगरानीमा राखेको सामाजिक संजालमा लेखेकी छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेकको टुंगो लाग्ने लाग्दा पोखरामा ब्यापक चहलपहल हुन थालेको छ। उक्त मुद्दाको थुनछेक बहसमा भाग लिन कानून व्यवसायीहरू पोखरा गएका छन्।
यसैक्रममा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा आज कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।
शुक्रबारदेखि सुरू भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। पछाईँ र जोशीका कानुन व्यवसायीको बहस सकिएपछि सभापति लामिछानेका कानुन व्यवसायीले बहस थाल्ने छन्।
थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ।
सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो।
यही पुस ७ मा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ। सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए।
पुष २१, २०८१ आइतबार ०९:५२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।