नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले एमाले छाडे
काठमाडौं : नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले एमाले छाडेको घोषणा गरेका छन्। आज बिहानै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नरहेको लेखेका छन्।
‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन,’ उनले लेखेका छन्।
उनले आगामी दिनमा देश र समाजको हितका लागि लडिरहने पनि उल्लेख गरेका छन्।
‘राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ। म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु, उनले भनेका छन्।
उनी नेपाल प्रहरीका २६औं प्रहरी महानिरीक्षक (आइजीपी) हुन्। आइजीपीको कार्यकाल सकिएपछि उनी २०७९ असोज ६ मा उनी एमाले प्रवेश गरे। च्यासलस्थित पार्टी कार्यालयमा एक कार्यक्रम गर्दै उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए।
अघिल्लो आम चुनावमा काठमाडौं क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार शिशिर खनालसँग चुनाव हारेका उनी पछि तनहुँ-१ मा भएको उपनिर्वाचनमा पनि रास्वपाकै स्वर्णिम वाग्लेसँग पराजित भए।
त्यसयता उनी एमालेमा निष्क्रियजस्तै बनिरहेका थिए।
पुष २१, २०८१ आइतबार ०९:००:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।