उकेरा टप फाइभ : एफवानसफ्ट सिस्टम ह्याकदेखि डा. अस्मिताको उपचार अनुभवसम्म
काठमाडौं : पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन भएको छ। गएराति चाबहिलको हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा उनको निधन भएकाे छ। हृदयघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए। उनको आजै तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको छ।
काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्कासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन्। गत बुधबार ती युवकसँग नयाँ वर्षको अघिल्लो दिन पारेर मंगलबार उक्त होटेलमा गएकी कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता मृत भेटिएकी थिइन्। त्यसपछि फरार रहेका देवबहादुर थापा शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको ओखलढुंगा डिएसपी कृष्ण खड्काले जानकारी दिए।
जय ट्रफी एलिट कप खेल्ने चारै टिमले आफ्नो अन्तिम १५ जनाको टोली घोषणा गरेका छन्। त्रिभुवन आर्मी क्लबले शनिबार विहान टोली घोषणा गरेसँगै चारै टोलीले आफ्नो स्क्वायड घोषणा गरेको हो। त्रिभुवन आर्मी क्लब विनोद भण्डारीको कप्तानीले खेल्दै गर्दा नेपाल पुलि क्लब आरिफ शेख, मधेश प्रदेश हरि शंकर शाह र बागमती प्रदेश सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुभन्दा दुई साताअघि हस मनी मुद्दामा सजाय सुनाइने भएको छ। न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने पक्का भएको हो। न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन, जरिवाना वा सशर्त रिहाइ दिने संकेत गरेका छन्।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
विभिन्न वित्तीय संस्था तथा बैंकहरूको अनलाइन पेमेन्ट सिस्टम बनाउने एफवानसफ्टको सिटिजन बैंकको खाता ह्याक गरेर तीन करोड ३९ लाख कसरी चोरी भयो खुलेन।
एफवानसफ्टले नै बनाएको सिस्टमको सुरक्षा प्रणाली ब्रेक गरेर चार दिनमा सो रकम अनधिकृत रूपमा नेपालका अन्य बैंक र डिजिटल वालेटमा ट्रान्सफर गरेर नेपाल बाहिर लगिएको प्रहरी अनुसन्धानले खुलायो। तर, कसरी सिस्टम ह्याक गरियो र ह्याकमा को संलग्न थिए त्यो भने खुल्न सकेन।
पूरा समाचार: एफवानसफ्ट सिस्टम ह्याक प्रकरण : चार दिनमा साढे ३ करोड चोरी, ह्याकर सुरक्षित, लोभी २४ जना फन्दामा
'प्रत्येक वर्ष नेपालमा कम्तीमा दश प्रतिशत कुल गार्हस्थ्य उत्पादन जातीय विभेदलगायतका कारण नोक्सान भइरहेको छ। यो भनेको देशलाई वार्षिक करिब ६ खर्ब घाटा लाग्नु हो। पछिल्लो दश वर्षलाई हेर्दा, दलित, महिला, मधेसी, जनजाति, धार्मिक अल्पसङ्ख्यकलगायतका सिङ्गो उत्पीडित तथा सीमान्तकृत समुदायलाई पाखा लगाउँदा देशलाई ६० खर्ब रुपैयाँ घाटा लागिरहेको तर्क गर्छन् नेपाल सरकारमा पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा।
उनको यो दाबी मिथ्या हैन। पहिला त उनी आफैँ अर्थशास्त्रका प्राध्यापक हुन्। सन् २०२० मा संयुक्त राष्ट्र सङ्घ र नेपाल सरकारले गरेको एक अध्ययनले नै 'नेपालमा भइरहेको असमानताको कारणले प्रत्येक वर्ष २५.२ प्रतिशत मानव विकासमा घाटा भइरहेको खुलाएको थियो। प्रस्तुत छ, उकेराको नियमित स्तम्भ 'जातका कुरा।'
पूरा समाचार: जातका कुरा : पूर्वसचिव डा. मानबहादुरको प्रश्न ‘अनि हामीले विभेदका कुरा नगरे कसले गर्ने ?’
भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा पक्राउ परेका रेशम महरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको कसुरमा पनि मुद्दा दायर गरिएको छ। पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा रेशम महरा ‘राहुल’सहित ११ जनालाई प्रतिवादी कायम गरेर शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले दायर गरेको अभियोग पत्र अनुसार भेपमार्फत सुन तस्करी गर्ने समूहमा आबद्ध बेल्जियन नागरिक दावा छिरिङसहित ११ जनालाई प्रतिवादी कायम गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार तीन सय रुपैयाँ बिगो मागदाबी लिएको छ।
पूरा समाचार: महरा पुत्र राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर, यी हुन् आधार
डा. अस्मिता रायामाझी क्यान्सर रोग विशेषज्ञ हुन्। क्यान्सर लागेपछि ‘सम्पति पनि सकिन्छ, मान्छे पनि रहँदैन’ भन्ने बुझाई चिर्न अझै जनचेतनाको खाँचो रहेको उनको अनुभव छ। हुन त उपचार गरेकामध्ये सतप्रतिशत बिरामीलाई बचाउन सक्ने त्यस्तो उपचार विधि बनेको छैन। तर, सही समयमा उपचार पाएको खण्डमा औषधि उपचारपछि अधिकांश बिरामी ठिक हुने उनी बताउँछिन्।
यस्तै स्वास्थ्य अवस्था जटिल भएर माया नै मारिसकिएकी एक जना महिलालाई बचाएको प्रसंग डा. अस्मिता कहिल्यै भुल्दिनन्। प्रसंग केही वर्षअघिको हो। जतिबेला उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा छात्रवृत्ति करारका रुपमा कार्यरत थिइन्। प्रस्तुत छ, उकेराको नियमित स्तम्भ 'डाक्टरको सुख-दु:ख'।
पूरा समाचार: डा. अस्मिताको उपचार अनुभव : असह्य दुखाई सहेर पनि निन्द्रा बिग्रन्छ भनेर नर्सलाई नबोलाउने ती ज्ञानी बालकले प्राण त्यागेको त्यो घटना
२०७६ वैशाख ३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘ब्रेक थ्रु’ गरे। भेरीगंगा नगरपालिकास्थित उक्त आयोजनाको काम तीन वर्षभित्र सक्नुपर्ने सम्झौता थियो। तर, अहिले पाँच वर्ष बितिसक्दा पनि आयोजनाको काम सकिएको छैन।
३३ अर्ब १९ करोड ६६ लाख रूपैयाँ लागत लाग्न यो आयोजनाको काम हालसम्म ६५.९ प्रतिशत मात्रै पूरा भएको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए।
पूरा समाचार: पाँच वर्षअघि प्रधानमन्त्री ओलीले ‘ब्रेक थ्रु’ गरेको भेरी-बबई डाइभर्सनको काम अझै सकिएन
पुष २०, २०८१ शनिबार २१:३८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।