काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’
काठमाडौं : नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ। ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदैछ।
कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्द्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ।
प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरूसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन्।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिष्ट पदाधिकारीहरूले समेत कार्यक्रममा सहभागिता रहनेछ। पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुनेछ।
चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्नेछन्।
‘चाइना फिल्म डे’को महत्वबारे नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताए।
पाठकले भने, ‘यस प्रकारका कार्यक्रमहरूले राष्ट्रहरूबीच आपसी सम्मान, सम्बन्ध र समझदारीलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्।’
प्रदर्शन हुने चलचित्रहरू :
१. हर स्टोरी (१२३ मिनेट)- निर्देशक : यीहुई साओ (उद्घाघाटन चलचित्र)
२. मिडसमर्स भ्वाइस (१०५ मिनेट)- निर्देशक : युडी झाङ
३. जीफर ग्याप (१०३ मिनेट)- निर्देशक : फेईलङ
पुष २०, २०८१ शनिबार १९:३६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।