डा. अस्मिताको उपचार अनुभव : असह्य दुखाई सहेर पनि निन्द्रा बिग्रन्छ भनेर नर्सलाई नबोलाउने ती ज्ञानी बालकले प्राण त्यागेको त्यो घटना
डा. अस्मिता रायामाझी क्यान्सर रोग विशेषज्ञ हुन्। क्यान्सर लागेपछि ‘सम्पति पनि सकिन्छ, मान्छे पनि रहँदैन’ भन्ने बुझाई चिर्न अझै जनचेतनाको खाँचो रहेको उनको अनुभव छ। हुन त उपचार गरेकामध्ये सतप्रतिशत बिरामीलाई बचाउन सक्ने त्यस्तो उपचार विधि बनेको छैन। तर, सही समयमा उपचार पाएको खण्डमा औषधि उपचारपछि अधिकांश बिरामी ठिक हुने उनी बताउँछिन्।
यस्तै स्वास्थ्य अवस्था जटिल भएर माया नै मारिसकिएकी एक जना महिलालाई बचाएको प्रसंग डा. अस्मिता कहिल्यै भुल्दिनन्। प्रसंग केही वर्षअघिको हो। जतिबेला उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा छात्रवृत्ति करारका रुपमा कार्यरत थिइन्।
उपचार गरेर पनि बचाउन नसकिने देखिएपछि ‘आइसीयु छैन’ भन्दै क्यान्सरको समस्या भएकी करिब ३६ वर्षकी बिरामीलाई अन्य अस्पतालमा लैजान अनुरोध गरेछन्। त्यसैले ती बिरामीका आफन्तले मृत्युको मुखमा पुगेकी महिलालाई वीर अस्पताल पुर्याएछन्। वीर अस्पतालमा पुर्याउँदा महिलाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। बचाउन कठिन देखिन्थ्यो।
तर, चिकित्सकले पनि श्वास छउन्जेल त आश कहाँ मारिहाल्छन् र! बिरामी बचाउन सकिने झिनो आशाकासाथ ती महिलालाई तुरुन्तै अस्पतालमा आकस्मिक उपचार थालियो। भेन्टिलेटरमा राखेर अक्सिजन दिइयो।
अस्पतालमा स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्य परीक्षण गर्दा ती महिलाको पाठेघरको साल रहने ठाउँमा क्यान्सर भएको रहेछ। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘कोरियोकार्सिनोमा’ भनिन्छ। क्यान्सर फैलिएर फोक्सोलगायत विभिन्न अंगमा पुगिसकेको थियो। महिलाको स्वास्थ्य झन्झन् जटिल बनिरहेको थियो।
कोरियोकार्सिनामा महिलाको पाठेघर (गर्भ)मा हुने एक किसिमको क्यान्सर हो। यस किसिमको क्यान्सर हुँदा गर्भ रहने ठाउँमा क्यान्सरको कोषिका हुन्छ। गर्भावस्थाको समयमा भ्रूणको पोषणका लागि विकसित हुने अंग ‘प्लेसेन्टा’मा ती महिलाको क्यान्सर भएको थियो। यस किसिमको क्यान्सर निक्कै छिटो फैलिने डा. अस्मिताले सुनाइन्। समयमै बिरामीको उपचार नभए बिरामीको मृत्यु हुने निश्चित जस्तै थियो।
त्यसपछि ती महिलालाई अस्पतालमा किमोथेरापी लगायत औषधि उपचार गरियो। औषधिले काम गर्दै गयो। मृत्युको मुखमा पुगिसकेकी ती महिला बिस्तारै सञ्चो हुँदै गइन्। बिस्तारै उनको क्यान्सरको समस्या ठिक हुँदै गयो। केही महिनाको औषधि उपचारपछि त जादु नै जसरी ती महिलाको क्यान्सर निर्मूल नै भयो। परिवारले करिब माया नै मारिसकिएकी ती महिलाको ज्यान बाँच्यो।
बचाउन सकिँदैन भनेर निजी अस्पतालले भर्ना नै लिन नमानिएकी ती महिला ठिक सञ्चो भएर वीर अस्पतालबाट डिस्चार्ज भइन्। अस्पतालमा औषधि उपचारपछि ती महिला बाँचेर मन्द मुस्कान छोड्दै घर फर्किएको अझै डा. अस्मितालाई याद छ। अस्पतालबाट डिस्चार्ज भएपछि पनि ती महिलाको केही महिना किमोथेरापी लगायत औषधि उपचार भयो।
ती महिला अहिले पनि सम्पर्कमा रहेको र क्यान्सर मुक्त भइसकेको डा. अस्मिताले सुनाइन्। उपचारका क्रममा कहिलेकाहीँ यसरी चमत्कारिक जस्तै देखिने गरी बिरामी बचाउन सम्भव हुने उनको अनुभव छ।
ती ज्ञानी १४ वर्षीय बालकले प्राण त्यागेको त्यो घटना
घटना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स/वीर अस्पताल) मा ‘रेडियशन अंकोलोजी’ विषयमा एमडी अध्ययन गर्दाको हो। करिब १४ वर्षका बालकलाई फोक्सोको क्यान्सर भएछ। फोक्सोको क्यान्सर फैलिएर जटिल अवस्थामा पुगिसकेको थियो। औषधि उपचार गरेर उनको आयु केही महिना लम्ब्याउने बाहेक चिकित्सकका हातमा दोस्रो विकल्प नै थिएन। जति औषधि उपचार गरेपनि क्यान्सर फैलिएका कारण बालकको मृत्यु नजिकिँदै गएको थियो।
क्यान्सरले गल्दै गएका बालकको अस्पतालमा औषधि उपचार भइनै रहेको थियो। दुखाइका कारण बालक अस्पतालको बेडमा छट्पटाउँथे। अनि दुखाई कम गर्ने औषधि दिनुपर्ने हुन्थ्यो। विशेषगरी रातीको समयमा छोरालाई असह्य दुखाई हुँदा ती बालककी आमा दुखाई कम गर्ने औषधि दिनका लागि नर्सिङ स्टाफलाई बोलाउन खोज्थिन्।
क्यान्सरले छट्पटाएका ती बालक भने नर्सिङ स्टाफको निन्द्रा बिग्रन्छ भनेर बोलाउन जानबाट आमालाई रोक्दा रहेछन्। राती असह्य दुखाई हुँदासमेत ती बालक आमालाई भन्थे, उहाँ(नर्स)हरूलाई नबोलाउनुन, उहाँहरूले पनि त सुत्नुपर्छ नि।’
भोलिपल्ट वार्डमा राउन्डमा जाँदा रातभरी असह्य दुखाई हुँदासमेत ती बालकले अर्काको निन्द्रा बिग्रन्छ भनेर नर्सलाई बोलाउन नदिएको थाहा पाउँदा डा. अस्मिताको मन छोयो। आफूले दुःख पाएको अवस्थामा अरूलाई दुःख नहोस् भनेर रोगले गलिरहेका ती बालकले सोचेको थाहा पाउँदा डा. अस्मिता नै छक्क परिन्।
आफूलाई पिडा हुँदासमेत अरूको निन्द्रा बिग्रन्छ कि भनेर दुखाई सहने ती संवेदनशील अनि ज्ञानी बालकलाई बचाउन सम्भव भएन। अस्पतालमा औषधि उपचार थालेको करिब एक वर्षमा त ती बालकले प्राण त्यागिहाले। त्यो घटना सम्झँदा अझै डा. अस्मिताको मन अमिलो हुन्छ।
आफ्नो मान्छेको रोग बिग्रिएको बारे भन्नै कठिन
बिरामीका आफन्तलाई रोगको विषयमा वास्तविकता भनिदिनुपर्ने हुन्छ। कतिपय बिरामीको क्यान्सर फैलिएर जटिल अवस्थामा पुगिसकेको हुन्छ। तर, बिरामीका आफन्तलाई त्यो कुरा सुनाउन भने निक्कै कठिन हुने गरेको उनले अनुभव सुनाइन्। आफन्तलाई रोगको खराब अवस्थाका बारेमा भन्न उनलाई कठिन हुन्छ। त्यसैले यस्तो अवस्थामा उनी अन्य चिकित्सकहरूमार्फत रोगको अवस्थाको बारेमा बताइदिन पठाउँछिन्। किनकी आफन्तको रोगको खराब अवस्थाका बारेमा भनिदिँदा उनीहरू(आफन्त)लाई खिन्नता हुने उनको अनुभव छ।
आफ्नै हजुरबुवालाई आफैंले उपचार गर्दागर्दै पनि बचाउन नसकेको डा. अस्मिताको अनुभव छ। अर्कातर्फ अस्पतालमा आफन्त नै भर्ना गरेर राख्दा समेत औषधि उपचारपछि भावनात्मक भएर आफन्त बिरामीसँग लामो समय बस्न नपाइने उनको अनुभव छ। किनकी उनलाई अन्य बिरामीले पनि औषधि उपचारका लागि कुरिरहेका हुन्छन्। बिरामीको संवेदनशीलतालाई उनी बुझ्छिन्। अनि आफ्नो कर्ममा लाग्छिन्। त्यसैले त चिकित्सकीय यो पेसालाई निक्कै संवेदनशील पेसाको रुपमा हेरिन्छ।
त्यसो त उपचार खर्च जुटाउन नसकेर धेरै बिरामी तथा बिरामीका आफन्तहरूले समेत उनीसँग पीडा पोख्ने गरेका छन्। रोगले अभिभावक बितिसकेपछि ‘म के खाने होला डाक्टरसाप? कतै काम लगाइदिनुन’ भन्दै कयौं बिरामीका आफन्तले डा. अस्मितालाई भन्ने गरेका छन्। यस्तो अवस्थाले भने उनलाई निक्कै भावुक बनाउँछ।
लामो समयको उपचारको क्रममा बिरामी तथा बिरामीको परिवारका बारेमा आर्थिकलगायतको विषयमा थाहा हुने गरेको उनले सुनाइन्। तर, अझै पनि खर्च नै जुटाउन नसकेका कारण कतिपय बिरामी त फलोअपमा आउन समेत छोड्ने गरेको उनको अनुभव छ। यसरी पैसाकै अभावका कारण रोग पाल्ने अनि मृत्यु कुर्नुपर्ने अवस्था सुन्दा भने उनको मन अमिलो हुन्छ।
डाक्टर बन्ने रहर
अस्मिताको बुवाको पुर्ख्यौली घर भोजपुर हो। तर, अस्मिताका बुवाआमा उनी जन्मनुअघि नै बसाइ सरेर मोरङको विराटनगर झरिसकेका थिए। त्यसैले २०४५ मा जन्मिएकी उनको बाल्यकाल पनि विराटनगरमा नै बित्यो।
अस्मिताका बुवा सरकारी जागिरे हुन्। त्यसैले सानैबाट उनको घरमा पढ्ने वातावरण राम्रै भयो। अस्मिताले विराटनगरकै सगरमाथा बोर्डिङ स्कुलबाट एसएलसी गरिन्। एसएलसीपछि भने उनी प्लसटु अध्ययनका लागि काठमाडौं आइन्। काठमाडौंको नोबेल एकेडेमीबाट उनले प्लसटु गरिन्।
अस्मितालाई सानैबाट डाक्टरी विषय अध्ययन गर्ने रहर थियो। नभन्दै उनले डाक्टरी विषय अध्ययन गर्ने अवसर पनि पाइन्। अस्मिता काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्समा सन् २००८ मा एमबीबीएस अध्ययनका लागि भर्ना भइन्। सन् २०१३ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।
एमबीबीएस अध्ययनपछि डा. अस्मिताले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा केही समय काम गरिन्।
फुपूको मृत्युले क्यान्सर रोगको अध्ययन
डा. अस्मितालाई थप अध्ययन गर्नु त छँदै थियो। चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनमा उनले क्यान्सर रोग विषय अध्ययन गर्ने निर्णय गरिन्। त्यसपछि उनले न्याम्समा स्नातकोत्तर तहको ‘रेडियशन अंकोलोजी’ विषयमा सन् २०१५ मा एमडी अध्ययन सुरू गरिन्।
एमडीमा क्यान्सर रोग विषय नै छनोट गर्नुको पनि खास कारण रहेछ। विराटनगरमा उनको र फुपूको घर नजिकै थियो। कालान्तरमा उनकी फुपूलाई रोग लाग्यो। अस्मिता करिब नौ वर्षको हुँदा फुपू रोगले छटपटाएको उनले नजिकबाट देख्थिन्। करिब ३२ वर्षको उमेरमा उनकी फुपूलाई रोगले लग्यो। पछि मात्रै क्यान्सरका कारण फुपूको मृत्यु भएको रहेछ भन्ने अस्मिताले थाहा पाइन्।
त्यसपछि उनको बाल मस्तिष्कमा पनि क्यान्सर रोग निको पार्ने डाक्टर बन्नुपर्छ भन्ने विषय छिर्यो। नभन्दै एमडी अध्ययनमा क्यान्सर रोग विषय नै छनोट गरिन्। र, यही विषयको विशेषज्ञ भएर काम गर्ने निर्णय गरिन्।
सन् २०१८ मा डा. अस्मिताले एमडी अध्ययन पूरा गरिन्। उनले सरकारी छात्रवृत्ति कोटामा एमडी गरेकी हुन्। त्यसैले डा. अस्मिताले सरकारी छात्रवृत्ति कोटामा एमडी अध्ययन गरेवापत एमडीपछि वीर अस्पतालको क्यान्सर रोग विभागमा नै दुई वर्ष छात्रवृत्ति करारमा काम गरिन्।
अध्ययन र अमेरिकाको त्यो अवार्ड
एमडी अध्ययन र छात्रवृत्ति करारमा काम गरिसकेपछि डा. अस्मिताले ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा ‘रेडियशन अंकोलोजीष्ट’का रूपमा करिब एक वर्ष काम गरिन्। त्यसपछि उनी फर्किएर विराटनगर नै पुगिन्। अनि विराट मेडिकल कलेजमा ‘क्लिनिकल अंकोलोजी’ विभागमा काम गर्न थालिन्। उनले विभागीय प्रमुखको जिम्मेवारी पाएर समेत काम गरिन्। डा. अस्मिता हाल विराट मेडिकल कलेजमा लेक्चररका रूपमा समेत कार्यरत छिन्।
विशेषगरी क्यान्सरसँग सम्बन्धित समस्या भएका बिरामीको औषधि उपचार गर्नु, चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि चिकित्सा शास्त्र विद्यामा केन्द्रित रहेर वैज्ञानिक खोज तथा अनुसन्धान गर्नु डा. अस्मिताको दैनिकी हो। क्यान्सर हो वा हैन भन्ने पत्ता लगाउने, क्यान्सरको समस्या भएका बिरामीलाई आवश्यकता अनुसार किमोथेरापी दिने, रेडियो थेरापी गराउने जस्ता उपचारात्मक विधि अपनाई बिरामीको रोग सञ्चो बनाउने काशिस गर्नु डा. अस्मिताको चिकित्सकीय कर्म हो।
डा. अस्मिताले विभिन्न सम्मान तथा पुरस्कार पनि पाएकी पाएकी छन्। विराटनगर फर्केपछि उनले सन् २०२२ मा ‘मेडिकल अंकोलोजी’ विषयको पनि थप अध्ययन गरिन् र यस विषयमा युरोपियन डिग्री लिइन्। त्यसअघि यो विषयको भारतलगायत १३ वटा मुलुकबाट परीक्षा दिन पाइन्थ्यो। उनले पनि भारतबाटै यो विषयको परीक्षा दिएकी हुन्। तर, उनले युरोपियन ‘मेडिकल अंकोलोजी’ विषयको डिग्री लिएपछि उनकै पहलमा नेपालमा पनि यो विषयको परीक्षा दिने व्यवस्था मिल्यो। र, हाल नेपालबाट पनि युरोपियन ‘मेडिकल अंकोलोजी’ डिग्रीका लागि परीक्षा दिन पाइने उनले सुनाइन्।
डा. अस्मिताले सन् २०२३ मा ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी’बाट ‘आइडिया’ अवार्ड समेत पाइन्। उनले बेलायतको ‘मेम्बर अफ रोयल कलेज अफ फिजिसियन (एमआरसिपी)’बाट ‘मेडिकल अंकोलोजी’ विषयको डिग्री पाइन्। एमआरसिपीबाट ‘मेडिकल अंकोलोजी’ विषयको डिग्री पाउने नेपालकै पहिलो चिकित्सक भएको समेत उनले अनुभव सुनाइन्।
डेढ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएकी उनका श्रीमान पनि अर्थोपेडिक सर्जन चिकित्सक हुन्। श्रीमान पनि विराटनगरमै काम गर्ने गरेको उनले सुनाइन्। चिकित्सकीय विधा निक्कै संवेदनशील र व्यस्त हुने भएकाले परिवारको साथ र सहयोग अवश्य आवश्यक हुन्छ। परिवारको साथ सहयोग पाएकैले यो पेसामा सहज भएको डा. अस्मिताले सुनाइन्।
पुष २०, २०८१ शनिबार १९:२२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।