गौशालाको बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि ओखलढुंगामा झुण्डिएको अवस्थामा भेटिए
काठमाडौं : काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्कासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन्।
गत बुधबार ती युवकसँग नयाँ वर्षको अघिल्लो दिन पारेर मंगलबार उक्त होटेलमा गएकी कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता मृत भेटिएकी थिइन्। त्यसपछि ती युवक फरार थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो।
त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको ओखलढुंगा डिएसपी कृष्ण खड्काले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक सुस्मिता स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन्। उनी जापान जाने तयारी स्वरूप उनले भाषा कक्षा पढिरहेकी थिइन्।
देवबहादुर भने जापानबाट मंसिर ३० मा छुट्टीमा नेपाल आएका थिए। उनी बिहीबार नै जापान फर्किने तयारीमा थिए।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
पुष २०, २०८१ शनिबार १७:५७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।